निर्वाचनको चटारोबीच कास्की प्रहरीद्वारा फागुनमा १८३ अपराध दर्ता, २६ फरार प्रतिवादी पक्राउ

फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु पर्ने दायित्व लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले यसबीचमा पनि अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका खेलेको छ ।

जिप्रका कास्कीले फागुन महिनामा सम्पादन गरेका विभिन्न कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । यस अवधिमा प्रहरीले विभिन्न प्रकृतिका १८३ वटा अपराध दर्ता गरी १३८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार दर्ता भएका मुद्दाहरूमध्ये ६४ वटा जघन्य तथा गम्भीर अपराध, १० वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित, ३३ वटा आर्थिक अपराध र ७६ वटा अन्य प्रकृतिका रहेका छन् ।

फैसला कार्यान्वयनतर्फ प्रहरीले २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ, जसमा १७ पुरुष र ९ महिला छन् । उनीहरूबाट १२ वर्ष ११ महिना २८ दिन कैद भुक्तान हुन बाँकी रहेको र १ करोड २५ लाख ९१ हजार ५५० रुपैयाँ बिगो रकम असुल गरिएको प्रहरीले जनाएको छ ।

यस महिनामा सामाजिक हिंसाका ६७ वटा र घरेलु हिंसाका ११ वटा उजुरी दर्ता भएका छन् । घरेलु हिंसाका उजुरीमध्ये ७ वटामा मिलापत्र गराइएको छ भने २ वटा अदालत वा अन्य कार्यालयमा पठाइएको छ । यस्तै, ६७ जना हराएको निवेदन परेकोमा ४६ जना फेला परेका छन् ।

लागुऔषध नियन्त्रणतर्फ प्रहरीले उल्लेख्य सफलता हात पारेको छ । फागुनमा ७४८ एम्पुल ब्रुफिन, ७२६ एम्पुल डाइजपाम, ७४७ एम्पुल फेनारगन, ७.३१ ग्राम ब्राउन सुगर, २५६ ट्याब्लेट ट्रयापेण्डोल र २९८ ग्राम गाँजा बरामद गरिएको छ ।

यस क्रममा ३ महिला र ११ पुरुष गरी १४ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

यस अवधिमा घटेका मुख्य घटनाहरूमा पोखरा–५ प्रस्याङबाट लागुऔषधसहित ३ जना, पोखरा–२९ खुइलेडाँडामा वृद्ध महिलाको सुन लुटपाट गर्ने ३ जना र पोखरा–९ शान्तिबनबाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।

त्यस्तै, सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने २ जना र आन्दोलनका क्रममा कारागारबाट फरार भएका ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले शान्ति सुरक्षाका लागि नियमित रूपमा पकेट, चेकिङ, मोबाइल गस्ती, ग्रामीण गस्ती र पैदल गस्ती जस्ता गतिविधि सञ्चालन गरेको छ । फागुन महिनामा मात्रै १७ वटा सवारी दुर्घटना भएका छन्, जसमा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ वटा सवारी साधनलाई कारबाही गरी ३४ लाख ५० हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

प्रहरीले ‘अपरेसन ३६५’ लाई निरन्तरता दिँदै ध्वनी प्रदुषण गर्ने र स्वरूप परिवर्तन गरिएका १० वटा सवारी साधन नियन्त्रणमा लिएको छ । यस क्रममा प्रहरीसँग झगडा गर्ने ६ जनालाई पक्राउ गरिएको छ ।

यस्तै, स्कुल बस र सार्वजनिक सवारीका चालकहरूको ‘मापसे’ जाँच गर्दा १० जना स्कुल बस चालक र ६ जना सार्वजनिक सवारी चालक कारबाहीमा परेका छन् । फेवातालमा ढुंगा चलाउने ४५ जनाको जाँच गर्दा ५ जनाले मादक पदार्थ र लागुपदार्थ सेवन गरेको पाइएकाले कारबाही गरिएको प्रहरीले जनाएको छ ।

सामुदायिक तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत प्रहरीले वन डढेलो नियन्त्रण, लागुऔषध दुर्व्यसनी, साइबर अपराध, लैंगिक हिंसा र ट्राफिक सचेतना जस्ता ४० वटा कार्यक्रम गरी ९६६ जनालाई सहभागी गराएको छ । विद्यालयहरूमा ‘सिटिइभिटी’ बाट सञ्चालन हुने सिपमूलक तालिम र सडक सुरक्षाका बारेमा पनि जानकारी दिइएको छ ।

प्रहरी कर्मचारीहरूको मनोबल वृद्धिका लागि ६ जनालाई पुरस्कृत गरिएको छ भने ७५ जना महिला प्रहरीका लागि उत्प्रेरणा कार्यक्रम र ‘टी विथ टिम’ जस्ता रचनात्मक क्रियाकलाप गरिएको बस्नेतले बताए ।

सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन तालचोकमा ३ थान र कारागार कार्यालयमा १० थान सिसीटिभी जडान गरिएको छ ।


Scroll to Top