एजेन्सी । मध्यपूर्वमा तनाव झन् चर्कदै गएको छ । इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को महत्वपूर्ण तेल भण्डार केन्द्र रहेको फुजाइरा बन्दरगाहमा ड्रोन हमला गरेको जनाएको छ ।
यूएईका अधिकारीहरूका अनुसार हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई अवरोध गरी नष्ट गरे पनि खसेको अवशेषका कारण बन्दरगाह क्षेत्रमा आगलागी भएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा यूएईको पूर्वी तटमा रहेको उक्त पूर्वाधार परिसरबाट बाक्लो धुवाँ उठिरहेको देखिएको छ ।
फुजाइरा बन्दरगाह यूएईका लागि अत्यन्त रणनीतिक महत्वको स्थान हो । यो ओमानको खाडीमा अवस्थित मध्यपूर्वकै प्रमुख तेल भण्डारण तथा पानीजहाजलाई इन्धन उपलब्ध गराउने केन्द्रहरूमध्ये एक मानिन्छ ।
साथै यहाँ पुग्न जहाजहरूले अत्यधिक संवेदनशील जलमार्ग हर्मुज स्ट्रेट पार गर्नुपर्दैन, जसले यसको रणनीतिक महत्व अझ बढाएको छ ।
यो हमला अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीपमा आक्रमण गरेलगत्तै भएको बताइएको छ । खार्ग द्वीप इरानको तेल उद्योग र समग्र अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।
यसैबीच, इरानको शक्तिशाली सैन्य संगठन इरानी क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाले इरानमाथि हमला गरेपछि यूएईका बन्दरगाह तथा अमेरिकी सैन्य ठेगानाहरू अब वैध निशाना बन्न सक्ने चेतावनी दिएको छ ।
इरानी सेनाको खताम मुख्यालयका प्रवक्ता कर्णेल इब्राहीम जुल्फीगरीले यूएईका बन्दरगाहमा रहेका अमेरिकी क्षेप्यास्त्र प्रणाली र सैनिक ठेगानामाथि आक्रमण गर्नु इरानको “वैध अधिकार” भएको दाबी गरेका छन्। उनले सम्भावित क्षतिबाट जोगिन यूएईका सहरहरू खाली गर्न मुस्लिम समुदायलाई आह्वानसमेत गरेका छन् ।
यसअघि अर्को खाडी देश कतारमा पनि अमेरिकी व्यापारिक हित जोडिएका केही क्षेत्र खाली गर्न स्थानीय अधिकारीहरूले आदेश दिएका थिए। इरानले ती स्थानहरूलाई सम्भावित निशाना बनाउन सक्ने चेतावनी दिएपछि मानिसहरूलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको हो ।
कतारको राजधानी दोहाको केन्द्रमा रहेको मुशेइरेब डाउनटाउन क्षेत्रमा समेत फोन सन्देशमार्फत सावधानी अपनाउन र स्थान खाली गर्न आग्रह गरिएको छ। उक्त क्षेत्रमा गूगल र अमेरिकन एक्सप्रेस जस्ता अमेरिकी कम्पनीहरूको कार्यालय रहेका छन् ।
विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले मध्यपूर्वमा ठूलो क्षेत्रीय द्वन्द्वको जोखिम बढाएको संकेत दिएका छन् ।







