पोखरामा महिला संवाद: अधिकार, न्याय र अवसरका विषयमा सशक्त बहस

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा महिला संवाद कार्यक्रम सम्पन्न भएको छ। “महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक विना शिलवालले अहिलेको समय छोरीहरूलाई केवल संरक्षण मात्र होइन, प्रगतिशील मायाको आवश्यकता रहेको बताइन् । उनले महिलालाई समान अधिकार र पहुँच सुनिश्चित गर्न वंशीय तथा अंशीय अधिकारसम्बन्धी नीति–नियमहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइन् ।

कार्यक्रमको उद्घाटन गर्दै मञ्जुदेवी गुरुङले कानुनमा महिलाको अधिकार र सहभागिता सुनिश्चित भइसकेको अवस्थामा अब महिलालाई कानुनी शिक्षा र आर्थिक रूपमा सशक्त बनाउनु आवश्यक रहेको बताइन् । महानगरपालिकाले न्यायमा पहुँच बढाउन महिला–पुरुष समसचेतना कार्यक्रम तथा आर्थिक सशक्तीकरणका लागि “उपप्रमुखसँग महिला कार्यक्रम” सञ्चालन गरिरहेको जानकारी दिइन् ।

त्यसैगरी गण्डकी प्रदेशकी प्रेस रजिष्टार बिमला भण्डारीले महिलाहरूको निरन्तर आन्दोलन र आवाजकै कारण अधिकार प्राप्त भएको उल्लेख गर्दै अधिकारका लागि आवाज उठाउन नछोड्न आग्रह गरिन् ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गर्तौलाले महिलाहरू शिक्षित र सक्षम बन्दै गए अर्थपूर्ण सहभागिता स्वतः सुनिश्चित हुँदै जाने बताइन ।

यसैगरी पोखरा उद्योग वाणिज्य संघ की महासचिव शोभा गौतमले महिलाबीचको एकता र उद्यमशीलताको विकासले नै महिला अधिकार सुदृढ हुने बताइन् ।

कार्यक्रममा जमुना वर्षा शर्मा, शोभा पाण्डे, इन्दिरा पौडेल तथा गणेश भण्डारी लगायतले पनि महिला अधिकार, समानता र सशक्तीकरणका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष माधव रेग्मी ले गरेका थिए भने सञ्चालन महिला उपाध्यक्ष तथा कार्यक्रम संयोजक कञ्चन थापाले गरेकी थिइन् ।

कार्यक्रममा सहभागीहरूले महिला अधिकार, समान अवसर र सशक्तीकरणका विषयमा निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

Scroll to Top