“प्रत्यक्षतर्फ काँग्रेस दुई सिटमा सिमित, हेभिवेट नेताहरु पराजित”

पोखरा । गण्डकी प्रदेशको प्रतिनिधि सभा निर्वाचन परिणामले यसपटक पुराना राजनीतिक दलहरूलाई ठूलो धक्का दिएको छ ।

गण्डकीमा नेपाली काँग्रेस प्रत्यक्षतर्फ जम्मा दुई सिटमा सीमित भएको छ । अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रभावशाली जित निकाल्दै प्रदेशको राजनीतिक समीकरण नै बदलिदिएको छ ।

१८ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा १० सिट जितेको थियो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले त्यस निर्वाचनमा २ सिट र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ५ सिट जितेको थियो ।

बागलुङको एक निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चा चुनिएको थियो । अहिले गण्डकीमा प्रत्यक्ष तर्फ यी सबै दल शून्यमा छन् ।

चित्रबहादुरले बागलुङबाट राखिराखेको जनमोर्चाको विरासतपनि यो निर्वाचनले खोसेको छ ।

बागलुङका दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्विप गरेको छ । उसो त बागलुङमा मात्र होइन गण्डकीका हिमाली जिल्ला बाहेक अन्यमा रास्वपाको क्लिन स्विप छ । प्रत्यक्ष तर्फ रास्वपाले गण्डकीबाट १५ सिटमा जीत हात पारेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पूर्व शिक्षामन्त्री वैज्ञानिक महाविर पुन स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका छन् ।

एमाले र काँग्रेसको विरासत मानिने कास्की र स्याङ्जा यी दुबै दलले भारी मतान्तरले हार व्यहोर्न पुगे ।

लमजुङबाट गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १७ हजार २२ मतले पछि पर्दै हार व्यहोरेका हुन् । यस क्षेत्रबाट निर्वाचित रास्वपाका धर्मराज केसीले ३३ हजार ८९८ मत ल्याएका थिए । हारपछि पृथ्वीसुब्बाले प्रतिक्रिया दिँदै निर्वाचनको परिणामले समस्या निम्त्याउन सक्ने बताएका थिए । उनले संघीयताका विषयमा आफनो विचार राख्दै राष्ट्रिय सहमतिको आधारमा बाहेक अन्यमा बलजफती गर्न खोजे देशमा अर्को द्धन्द्ध सुरु हुने बताएका थिए ।

यता, पूर्व स्वास्थ्यमन्त्री पदम गिरी र काँग्रेसका नेता अर्जुन प्रसाद जोशीले हार व्यहोरे । अघिललो पटक २९ हजार ८७२ मत ल्याएर सांसद निर्वाचित भएका गिरी यसपटक १५ हजार ७५ मतमा खुम्चिए । यस क्षेत्रमा रास्वपाका सागर भुसाल निर्वाचित भए ।

गण्डकीले हेभीवेट नेताले हार व्यवहोरेपनि तनुहँ क्षेत्र नं १ ले स्वर्णिम वाग्लेलाई पुन निर्वाचित गराएको छ । उनले काँग्रेसका गोविन्द भट्टराईलाई हराएर दोस्रो पटक तनुहँबाट निर्वाचित भएका हुन् ।

यस निर्वाचनमा चर्चामा रहेको अर्को क्षेत्र थियो गोरखा १ । जहाँ जेनजी आन्दोलन पछि चर्चामा आएका सुदन गुरुङ रास्वपाबाट उम्मेदवार थिए । उनले काँग्रेसका प्रेम कुमार खत्रीलाई हराउँदै सदनको यात्रा सुरु गरेका हुन् । आज सोमबार मात्र सकिएको अन्तिम मत परिणम अनुसार सुदनले २९ हजार ८९६ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् । उनले गण्डकीका पूर्व सांसद रहेका काँग्रेसका उम्मेदवार प्रकाश चन्द्र दवाडीलाई हराउँदै निर्वाचित भएका हुन् ।

गण्डकीबाट रास्वपाले हालसम्म समानुपातिक तर्फ ४ लाख ६० हजार ९०७ मत ल्याएका छन् । काँग्रेसले १ लाख ८० हजार ४५४, नेपाल कम्युनिष्ट पार्टी एमालेले १ लाख ४३ हजार ७४६ र नेपाल कम्युनिष्ट पार्टीले ३८ हजार ७८३ मत प्राप्त गरेको छ ।

२०७९ सालको निर्वाचनमा गण्डकीबाट समानुपातिकतर्फ एमालेले ३ लाख २४ हजार ८८२ मत ल्याउँदा दोस्रोमा कांग्रेसले ३ लाख १२ हजार ७२० ल्याएको थियो भने रास्वपाले १ लाख ७७ हजार ०२५ मत ल्याएर तेस्रो बनेको थियो ।

Scroll to Top