पोखरा । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ऐतिहासिक मतान्तरसहित विजयी भएका छन्। उनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
बालेनले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका छन्। ओलीले यस निर्वाचन क्षेत्रमा १८ हजार ७३४ मत प्राप्त गरेका छन्।
यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले ८ हजार ५९० मत प्राप्त गरेका छन्।
झापा–५ को यो परिणामलाई यसपटकको निर्वाचनकै सबैभन्दा चर्चित र अप्रत्याशित नतिजामध्ये एक मानिएको छ। बालेन शाहले प्राप्त गरेको ६८ हजारभन्दा बढी मत हालसम्मको निर्वाचन परिणामअनुसार सबैभन्दा बढी मतसहितको जित पनि बनेको छ।
यो जितसँगै रास्वपाले झापाजस्तो परम्परागत रूपमा एमालेको बलियो मानिने क्षेत्रमा पनि प्रभाव विस्तार गरेको संकेत देखिएको विश्लेषकहरू बताउँछन्।







