पोखरा । चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को उपाधि प्लस–२ तर्फ बागलुङको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा विश्वविद्यालय (कलेज) तर्फ इन्फरमेटिक्स कलेजले च्याम्पियन भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजनामा तथा सबिन मेमोरियल एफसीको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्लस–२ तर्फको फाइनल खेलमा चिल्ड्रेन लाइफले पोखरा मासबारस्थित स्टेप वाई स्टेप स्कुललाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । चिल्ड्रेन लाइफको जितमा आयुष पौडेलले दुई गोल तथा बरदान थापा मगरले एक गोल गरे भने स्टेप वाई स्टेपका आश्रय कुँवरले सान्त्वना गोल फर्काए । स्टेप वाई स्टेप लगातार दोस्रो पटक उपविजेतामै सीमित बन्यो ।
उपाधिसँगै चिल्ड्रेन लाइफले नगद १ लाखसहित रनिङ शिल्ड प्राप्त गर्यो भने उपविजेता स्टेप वाई स्टेपले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । प्लस–२ तर्फ स्टेप वाई स्टेपका कुन्जन पौडेल उत्कृष्ट खेलाडी घोषित भए । चिल्ड्रेन लाइफका रेशम बाबु रिजाल उत्कृष्ट गोलकिपर तथा आयुष पौडेल सर्वाधिक गोलकर्ता बने ।
यता विश्वविद्यालय (कलेज) तर्फ इन्फरमेटिक्स कलेजले आफ्नो दबदबा कायम राख्दै उपाधि रक्षा गर्न सफल भयो । फाइनलमा इन्फरमेटिक्सले लेक सिटी कलेजलाई १–० गोल अन्तरले पराजित गर्यो । इन्फरमेटिक्सका लागि निर्णायक गोल सुशिल बरुवालले गरेका थिए ।
च्याम्पियन इन्फरमेटिक्सले नगद २५ हजार तथा उपविजेता लेक सिटी कलेजले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विश्वविद्यालयतर्फ इन्फरमेटिक्सका नारायण प्रकाश पुन उत्कृष्ट खेलाडी घोषित भए भने पुकार गुरूङ उत्कृष्ट गोलकिपर र इन्फोम्याक्सका सवल दाहाल सर्वाधिक गोलकर्ता बने ।
कार्यक्रममा हिसान गण्डकी प्रदेशका अध्यक्ष डा.रामजी शर्माले प्रतियोगिताले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबिन मेमोरियल एफसीलगायत सबैप्रति आभार व्यक्त गरे ।
प्रतियोगितामा प्लस–२ तर्फ विभिन्न जिल्लाबाट छनोट भएका १६ टोली तथा विश्वविद्यालय ९कलेज० तर्फ ८ टोली गरी कुल २४ टोलीको सहभागिता रहेको थियो । प्लस–२ समूहमा कास्कीबाट ८, बागलुङबाट ३, तनहुँबाट ३ तथा पर्वत र म्याग्दीबाट समान १–१ टोली सहभागी रहेको आयोजकले जनाएको छ ।







