पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आई नेपाल अन्तर्गतका विभिन्न क्लबहरूको संयुक्त रिजन सम्मेलन लेखनाथमा सम्पन्न भएको छ ।
सम्मेलनमा लायन्स क्लब अफ लेखनाथ सिमसार, लेखनाथ मेट्रो सिटी, पोखरा स्मार्ट सिटी, लेखनाथ लोटस, लायन्स क्लब अफ लेखनाथ, सेभेन सिटी, लेखनाथ कालिका सिटी र लेखनाथ स्टार सहभागी थिए ।
कार्यक्रमकी प्रमुख अतिथि डिष्ट्रिक गर्भनर पार्वती खरेल पाण्डेले लायन्सले अघि सारेका सेवा कार्यक्रम स्थानीय तहसँग सहकार्य गर्दै महिला तथा युवा सशक्तिकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्। उनले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै समुदायमुखी गतिविधि विस्तार गर्न आग्रह गरिन ।
पोखरा २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले सहकार्य र एकता नै वर्तमान आवश्यकता भएको उल्लेख गर्दै क्लबहरूलाई रक्तदान, दैवी प्रकोप व्यवस्थापन, आगलागी नियन्त्रण र वृक्षारोपण जस्ता सामाजिक सेवामा सक्रिय हुन सुझाव दिए ।
सेकेन्ड भिडिजी शैलेन्द्र मोहन भट्टराईले समुदायसँग सहकार्य गर्दै सकारात्मक सोचका साथ सेवा विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा जोन चेयर प्रशन राम बस्याल, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी तथा लायन विष्णुप्रसाद लम्सालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन रिजन चेयर प्रशन कृष्णप्रसाद तिमिल्सेनाले गरेका थिए ।







