हिसान गण्डकी फुटसल सुरु, उद्घाटन खेलमा स्टेप बाई विजयी

पोखरा । चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताअन्तर्गत पहिलो दिन प्लस–२ तर्फका ८ खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कूलले गुरुकुल विद्या सदनलाई ३–२ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । निर्धारित ३० मिनेटको खेलमा स्टेप बाई स्टेपले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । अघिल्लो संस्करणको उपाधि विजेता गुरुकुल यसपटक भने पहिलो खेलबाटै बाहिरिएको छ भने स्टेप बाई स्टेप गत संस्करणको उपविजेता टोली हो ।

पहिलो दिन सम्पन्न अन्य खेलहरूमा प्रतिभा सेकेन्डरी स्कूल, न्यू ओआसिस एकेडेमी (बागलुङ), बराही आवासीय मावि (तनहुँ), चिल्ड्रेन लाइफ बोर्डिङ स्कूल तथा डायमण्ड सेकेन्डरी स्कूल विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतिभा माविले अक्सफोर्ड स्कूललाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको थियो । त्यसैगरी ओआसिसले आदर्श विद्या मन्दिर माविलाई ४–१ गोलले हरायो । बराही आवासीय माविले ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कूललाई २–० ले, चिल्ड्रेन लाइफ बोर्डिङ स्कूलले जे.सी.एलाई ६–१ ले तथा डायमण्ड सेकेन्डरी स्कूलले अमर आदर्श बोर्डिङ स्कूललाई ३–० गोलले पराजित गरेको सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगलले जानकारी दिए ।

यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालयका प्रमुख सुवास पन्तले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले खेलकुदले विद्यार्थीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

हिसान गण्डकी प्रदेशका अध्यक्ष डा.रामजी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिसानका केन्द्रीय सल्लाहकार बाबुराम पन्त, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्लस–२ तर्फ विभिन्न जिल्लाबाट छनोट भएका कुल १६ टोली तथा विश्वविद्यालयतर्फ ८ गरी कुल २४ टोलीले प्रतिस्पर्धामा छन् । जसमा प्लस टु तर्फ कास्कीबाट ८ टोली, बागलुङबाट ३ टोली, तनहुँबाट ३ टोली तथा पर्वत र म्याग्दीबाट समान १–१ टोलीको सहभागिता रहेको हिसान गण्डकीका अध्यक्ष शर्माले जानकारी दिए ।

विश्वविद्यालय तथा कलेजतर्फ इन्फर्मेटिक्स कलेज, पोखरा लिंकन इन्टरनेशनल कलेज, सोच कलेज अफ आईटी, लेक सिटी कलेज एण्ड रिसर्च सेन्टर, गेन्स कलेज, पोखरा इन्जिनियरिङ कलेज तथा इन्फोम्याक्स कलेज अफ आईटी एण्ड म्यानेजमेन्ट सहभागी छन् ।

त्यसैगरी प्लस–२ तर्फ न्यू ओएसिस एकेडेमी, आदर्श विद्या मन्दिर सेकेन्डरी स्कूल, बागलुङ, बराही आवासीय मावि, ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कूल, प्रतिभा सेकेन्डरी स्कूल, अक्सफोर्ड स्कूल, चिल्ड्रेन लाइफ बोर्डिङ स्कूल, जे.सी.ए., गुरुकुल विद्या सदन, स्टेप बाई स्टेप सेकेन्डरी स्कूल, आरनिको इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कूल, फिस्टेल एकेडेमी, फ्युचर ब्राइटर सेकेन्डरी स्कूल, बाल कल्याण बोर्डिङ स्कूल, डायमण्ड सेकेन्डरी स्कूल तथा अमर आदर्श बोर्डिङ स्कूल सहभागी रहेका छन् ।

प्लस–२ तर्फ विजेता टोलीले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ ।

यस्तै विश्वविद्यालयतर्फ विजेताले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र पाउनेछन् । अघिल्लो संस्करणमा प्लस–२ तर्फ गुरुकुल विद्या सदन तथा कलेजतर्फ इन्फर्मेटिक्स कलेजले उपाधि जितेका थिए ।

Scroll to Top