पोखरा । कक्षा ८ र ९ को वार्षिक परीक्षा तथा कक्षा १० को एसईईलाई लक्षित गर्दै श्री ज्ञानभूमि माध्यमिक विद्यालय, पोखरा–३ नदीपुरमा विशेष प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम सापकोटाको पहलमा आयोजित उक्त कार्यक्रम पोखरा महानगरपालिका वडा नं.३ को सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रशिक्षक डा.तुलसीराम खनालले विद्यार्थीहरूलाई परीक्षाको प्रभावकारी तयारी, समय व्यवस्थापन, उत्तरपुस्तिका लेखन सीप तथा आत्मविश्वास अभिवृद्धिका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए ।
प्रशिक्षक खनालले नियमित अध्ययन, निरन्तर पुनरावृत्ति, नमुना प्रश्नको अभ्यास र स्पष्ट तथा व्यवस्थित लेखनशैली उत्कृष्ट नतिजाको आधार हुने बताए । उनले परीक्षालाई डरका रूपमा नभई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा लिन विद्यार्थीहरूलाई आग्रह गरे ।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष ज्योति सुनारसहित अभिभावक, शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मबल र अध्ययनप्रति जिम्मेवारी भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सापकोटाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस्ता प्रेरणामूलक तथा सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।







