कास्कीका विभिन्न मतदानस्थल, सुरक्षा बेस र स्ट्राइकिङ टोली रहने स्थानहरूको अनुगमन तथा निरीक्षण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू सहितको टोलीले जिल्लाका विभिन्न स्थानको भ्रमण गरी सुरक्षा स्थितिको जानकारी लिए।
टोलीले अन्नपूर्ण गाउँपालिका वडा नं. ८ स्थित बाँकोट आधारभूत विद्यालय र वडा नं. ९ स्थित भगवती माध्यमिक विद्यालयमा रहेका मतदानस्थलहरूको निरीक्षण गरे। सो क्रममा टोलीले निर्वाचन सुरक्षा बेस र स्ट्राइकिङ टोली रहने स्थानहरूको समेत अनुगमन गरी आवश्यक निर्देशन दिएका छन्।
निर्वाचनलाई व्यवस्थित बनाउन मतदान केन्द्रमा खटिने कर्मचारीहरूको विवरण समेत प्रकाशित गरिएको छ।
सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सशस्त्र प्रहरी बल र नेपाली सेनाले जिल्लाभरि मतदानस्थल केन्द्रित गस्ती (पट्रोल)लाई तीव्र पारेका छन्।
सशस्त्र प्रहरी बल नेपालले कास्कीका विभिन्न स्थानमा कुल ३३ वटा पट्रोल सञ्चालन गरे। जसमध्ये निर्वाचन क्षेत्र सुरक्षा बेसबाट ५, स्ट्राइकिङबाट ६, मोबाइल टोलीबाट १७ र गणबाट ५ वटा पट्रोल खटिएका थिए।
त्यस्तै, नेपाली सेनाले पनि बिहानदेखि साँझसम्म जिल्लाका विभिन्न पालिकाहरूमा ४६ वटा मतदान स्थल केन्द्रित पट्रोलहरू सञ्चालन गरे।
सेनाले शनिबार अन्नपूर्ण गाउँपालिकामा १२, मादी गाउँपालिकामा १२, पोखरा महानगरपालिकामा १६, माछापुच्छ्रे गाउँपालिकामा ४ र रुपाकोट गाउँपालिकामा ४ वटा पट्रोल सञ्चालन गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएको जनाएका छन्।







