त्रिविको ऐतिहासिक निर्णय, पिएनमा ‘गण्डकी च्याप्टर’ स्थापनाको तयारी

त्रिभुवन विश्वविद्यालयको र त्रिवि सभाबाट पारित गण्डकी प्रदेशस्थित त्रिविको आङ्गिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पसलाई उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने सम्बन्धी अवधारणामा व्यापक अन्तर्क्रिया गर्ने उद्देश्यले आयोजित कार्यशाला गोष्ठीले पृथ्वीनारायण क्याम्पसको आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णय समेत गरेको छ।

त्रिविको समग्र पुनर्संरचना अभियानको एक हिस्साको रूपमा रहेको गण्डकी च्याप्टर कार्यशालाको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्याल र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा देवराज अधिकारीले संयुक्त रूपमा गरे।

कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले त्रिविको सेवा प्रवाहलाई सरलीकरण गर्ने, विद्यार्थीले प्राप्त गर्नुपर्ने सबै सेवा/सुविधाहरूलाई नजिकैबाट उपलब्ध गराउने, दीक्षान्त समारोहमा सबै विद्यार्थीहरू उपस्थित हुने अवस्था निर्माण गर्ने, पाठ्यक्रम स्तरीकरण तथा परीक्षा सम्बन्धी कार्यहरूलाई अधिकार प्रत्यायोजन र मौजुदा ऐनको दायरामा रही नियममा परिमार्जन गरी सेवा प्रवाहलाई सुव्यवस्थित गर्ने योजना रहेको बताए।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षा सम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित गर्न गण्डकी च्याप्टरको अवधारणा ल्याएकोमा खुसी व्यक्त गर्दै परिवर्तन र रूपान्तरणका लागि आँट गर्न समेत पदाधिकारीलाई आग्रह गरे।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले गण्डकी च्याप्टरमार्फत चालिस वर्षअघिको सपनालाई सार्थकता दिन खोजिएको बताए।

गण्डकी च्याप्टरले प्राज्ञिक स्वायत्तताको अनुभूति गराउने, प्रशासनिक र शैक्षिक सेवा प्रभावलाई व्यवस्थित बनाई विद्यार्थीलाई गुणस्तरीय उच्चशिक्षा आर्जन गर्ने वातावरण मिलाउने तथा सबै शिक्षकहरूलाई पाठ्यक्रम निर्माण लगायतका अनुसन्धान क्रियाकलापमा संलग्न गराउन ऐनमा भएका प्रावधानकै आधारमा पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन गर्ने उनले बताए।

त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले गुणस्तरीय उच्चशिक्षाको लागि गण्डकी च्याप्टरले उदाहरणीय कार्य गर्ने अपेक्षा व्यक्त गरे। उनले गण्डकी प्रदेशका आङ्गिक क्याम्पसहरू सक्षम छन् र नेतृत्व गर्न सक्छन् भनेर भौतिक, राजनीतिक, कानुनी जटिलताका बाबजुद पृथ्वीनारायण क्याम्पसमार्फत कार्य प्रारम्भ गरिएको बताए।

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव डा.ज्ञानबहादुर थापाले त्रिविको व्यवस्थापनका लागि केही दूरदर्शी निर्णय लिनुपर्ने धारणा व्यक्त गर्दै देशैभरि केही च्याप्टर निर्माण गरेर थप व्यवस्थित, प्रभावकारी र विश्वपरिवेश अनुकूल बनाउनुपर्ने भएकाले आजको दिनलाई ऐतिहासिक मानेर अघि बढ्न सबैलाई अनुरोध गरे।

उनले त्रिवि भौतिक र मानवीय संशाधनमा समृद्ध रहेकाले समग्र उच्चशिक्षाको गुणस्तर र व्यवस्थापनमा कुनै पनि प्रकारको सम्झौता नगरी सङ्घीयताको मान्यता अनुरूप आफ्ना निकायलाई व्यवस्थित गर्नुपर्ने धारणा समेत व्यक्त गरे।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा केशरजंग बरालले गण्डकी च्याप्टरको प्रारम्भ पृथ्वीनारायण क्याम्पसमार्फत हुँदा कैयौँ विद्यार्थीहरूले सेवा/सुविधा प्राप्त गर्ने र पुरै गण्डकी प्रदेश लाभान्वित हुने बताउँदै पदाधिकारीहरूलाई कार्यान्वयनका क्रममा पेसागत तथा दलीय आस्थामा विभक्त सरोकारवाला शिक्षक, कर्मचारी तथा विद्यार्थीमार्फत हुन सक्ने चुनौतीका बारेमा समेत अवगत गराए।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणी पौडेलले सेवा प्रभावलाई व्यवस्थित गर्न अधिकार प्रत्यायोजनमार्फत शैक्षिक प्रशासनलाई सरल, प्रभावकारी र व्यवस्थित बनाउन अनुरोध गरे।

नेपालको उच्च शिक्षालाई सङ्घीय संरचनासँग जोडेर गुणस्तरीय, पहुँचयोग्य तथा बजारमुखी बनाउने दिगो लक्ष्य राखेको उक्त कार्यशालामा गण्डकी च्याप्टर टास्क फोर्सका संयोजक प्राडा लालुप्रसाद पौडेलले उच्चशिक्षालाई स्थानीयकरण गर्ने, पाठ्यक्रमहरूलाई बजारको आवश्यकता बमोजिम निर्माण गर्ने, अध्ययन र अनुसन्धानलाई प्रभावकारी बनाउने, परीक्षा प्रणालीलाई सरलीकरण गर्ने, प्रक्रियामुखी तथा झन्झटिलो शैक्षिक प्रशासनलाई प्रभावकारी बनाउने, उच्चशिक्षा अनुकूलको भौतिक पूर्वाधार निर्माण गर्ने, मानवस्रोत व्यवस्थापनमा देखिएका व्यवधानहरू समाधान गर्ने, तालिम तथा क्षमता अभिवृद्धिमा देखिएका विभेदहरू कम गर्ने र समग्र उच्चशिक्षाको सम्पूर्ण प्रक्रियालाई व्यवहारिक रूपमा विकेन्द्रित गर्न महत्त्वपूर्ण प्रारम्भ हुने बताए।

उनले त्रिविले हाल भोगिरहेका प्राज्ञिक चुनौतीहरू र विश्वका ठूला विश्वविद्यालयहरूको समग्र व्यवस्थापन र त्रिविले लिन सक्ने आगामी गन्तव्य समेटिएको कार्यपत्र प्रस्तुत गर्दै गण्डकी च्याप्टरको अवधारणा अत्यन्तै महत्त्वपूर्ण र आवश्यक रहेको बताए। गण्डकी प्रदेशमा सबैभन्दा बढी विद्यार्थी पृथ्वीनारायण क्याम्पसमा रहेको र पोखरा आसपासका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी धेरै रहेकाले पनि गण्डकी च्याप्टर औचित्यपूर्ण हुने उनले बताए।

पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख हरीप्रसाद पाठकले गण्डकी च्याप्टर निर्माणमा पृथ्वीनारायण क्याम्पसको भौतिक तथा मानवस्रोतको अवस्था, आर्थिक स्रोत व्यवस्थापन लगायतका विषयहरू समेटिएको कार्यपत्र प्रस्तुत गरे।

कार्यक्रममा व्यवस्थापन सङ्कायका डीन प्राडा महानन्द चालिसे, त्रिवि कार्यकारी परिषदका सदस्य डा.जगतकृष्ण श्रेष्ठ, त्रिवि योजना निर्देशनालयका निर्देशक डा.लक्ष्मीकान्त शर्मा, त्रिवि सभा तथा कार्यकारी परिषदको कार्यालयका प्रमुख नविन्द्र प्रसाद भण्डारी, शिक्षाध्यक्षको कार्यालयका कार्यालय प्रमुख गोविन्द थापा, रजिष्ट्रारको कार्यालयका कार्यालय प्रमुख कमलप्रसाद घिमिरे लगायत गण्डकी प्रदेशमा रहेका त्रिविका ७ वटै आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरू, पृथ्वीनारायण क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Scroll to Top