नयाँलिपि । रौतहटको गौर नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आइतबार पनि कायमै राखिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म अत्यावश्यक कामका लागि मात्र आवतजावत गर्न अनुमति दिएको जनाएको छ। तर यस अवधिमा समेत कुनै किसिमका सभा, जुलुस वा प्रदर्शन गर्न पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्पष्ट पारेका छन्।
बिहान ८ः३० बजेसँगै कर्फ्यु पुनः कडाइका साथ लागू हुने र अर्को आदेश नआउञ्जेलसम्म जारी रहने प्रशासनले जनाएको छ । गौर नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको चार किल्लाभित्र कर्फ्यु लागू गरिएको छ। उक्त क्षेत्रमा भेला हुन, हिँडडुल गर्न वा कुनै पनि प्रकारका सार्वजनिक गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ।
स्थानीय समुदायबीच उत्पन्न विवादपछि शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु घोषणा गरिएको थियो। अवस्था नियन्त्रणमा आए पनि सम्भावित अप्रिय घटना रोक्न प्रशासनले सावधानीस्वरूप कर्फ्यु निरन्तर राखेको जनाएको छ। कर्फ्यु उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिँदै प्रशासनले शान्ति र सुव्यवस्था कायम गर्न सबै स्थानीयवासीलाई सहयोग गर्न अपिल गरेको छ।







