पोखरामा ६७२ एम्पुल लागुऔषध र नगद सहित ३ महिला पक्राउ

पोखरा । महानगरपालिका ५ प्रस्याङबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित ३ जना महिलालाई पक्राउ गरेको छ । लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई फागुन ६ गते नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई समातेको हो । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थायी घर भई हाल पोखरा १८ बस्ने ३१ वर्षीया नरकुमारी घर्ती, १८ वर्षीया अस्मिता घर्ती मगर र ४१ वर्षीया कुन्तमाया पाइजा छन् ।

प्रहरीले उनीहरूको साथबाट डाइजेपाम २ सय २४ एम्पुल, फेनारगन २ सय २४ एम्पुल र ब्रुफिन २ सय २४ एम्पुल गरी कुल ६ सय ७२ एम्पुल लागुऔषध बरामद गरेको छ । यसका साथै उनीहरूको साथबाट ८ हजार ५ सय रुपैयाँ नगद र ३ थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ ।
कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

कास्की जिल्ला अदालतले उनीहरूलाई थप अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले यसअघि पनि पोखराका विभिन्न स्थानबाट लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिँदै आएको छ ।

Scroll to Top