सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।कर्णाली प्रदेशको सुर्खेतमा बिहीबार आयोजित कार्यक्रममा पार्टीले ‘नीतिगत प्रस्थानका १०० आधार’ सहितको चुनावी बाचापत्र सार्वजनिक गर्दै यस्तो लक्ष्य अघि सारेको हो ।
बाचापत्र सार्वजनिक गर्दै उपसभापति स्वर्णिम वाग्लेले अबको केही वर्षमै नेपालको अर्थतन्त्र १०० खर्ब रुपैयाँभन्दा माथि पुर्याउने दाबी गरे । “अहिले नेपाल निम्न आय भएको मुलुकमा छ, अबको ५ वर्षमा हामी सम्मानजनक मध्यम आय भएको देश बन्नेछौं,” उनले भने। रास्वपाले वार्षिक कम्तीमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने तथा ५–७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर (करिब ४ लाख रुपैयाँ) पुर्याउने लक्ष्य राखेको छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापति रवि लामिछने, वरिष्ठ नेता बालेन शाह र उपसभापति वाग्लेसहित शीर्ष नेताहरूको उपस्थिति थियो । उनीहरूले संयुक्त रूपमा बाचापत्र सार्वजनिक गर्दै फागुन २१ पछिको सरकार र आगामी बजेटको खाकासमेत प्रस्तुत गरे । सुशासन र अर्थतन्त्रमा आमूल परिवर्तन गर्ने उद्घोष गर्दै नेताहरूले घण्टी चुनाव चिह्नमा मतदान गर्न आह्वान गरे ।
रास्वपाले सरकारी सेवामा ‘लाइन होइन, अनलाइन’ अवधारणा लागू गर्ने प्रतिबद्धता जनाएको छ । सेवा प्रवाह सुधार, सुशासन सुदृढीकरण र न्याय क्षेत्रमा योग्यतातन्त्र (मेरिटोक्रेसी) स्थापना पार्टीको प्राथमिकतामा रहेको जनाइएको छ । राज्य संयन्त्रलाई दलीय प्रभावबाट मुक्त राख्ने र निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गर्न बाधक मानिएका दर्जनौं ऐन–नियम एकैपटक खारेज गर्ने घोषणा पनि बाचापत्रमा समेटिएको छ ।
यसअघि पार्टीले सार्वजनिक गरेको करारपत्रमा राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्ति अन्त्य गर्ने विषय उल्लेख गरिएको थियो । विसं २०४६ यताका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने प्रतिबद्धता पनि दोहोर्याइएको छ ।
स–साना सुधारले मात्रै देशको अवस्था नबदलिने उल्लेख गर्दै रास्वपाले राजकाजको दिशा परिवर्तन गर्न ५ वर्षे स्थिर सरकार आवश्यक रहेको दाबी गरेको छ । राजनीतिक अस्थिरता अन्त्यका लागि स्पष्ट बहुमत अपरिहार्य रहेको बताउँदै पार्टीले अर्थतन्त्र उकास्न ‘मिसन मोड’ मा काम गर्ने प्रतिबद्धता जनाएको छ ।







