पोखरा । पोखरा रंगशालामा जारी आहारारा पोखरा गोल्डकप अन्तर्गत आज(बिहिवार)भएको खेलमा जाउलाखेल युथ क्लब विजयी भएको छ ।
जाउलाखेलले उज्बेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ५२औँ मिनेटमा भएको आत्मघाती गोल नै निर्णायक बन्यो ।
धरबेन्दर कुँवरले लेफ्ट विङबाट डि–एरिया नजिकैबाट दिएको क्रस रोक्ने क्रममा आभा एफसीका डिफेन्डर कुशान गानिजानोभले जोगाउने क्रममा छातीमा बल लाग्दै जाली चुमेपछि जाउलाखेलले अग्रता लिएको थियो ।
६५औँ मिनेटमा मामुरोतोभलाई फाउल गरेपछि जाउलाखेलका युवराज ढकालले सिधै रातो कार्ड दिदै बाहिरिएको थियो ।
खेल अबधिभर जाउलाखेललाई दबावमा राखे पनि नतिजा उल्ट्याउन नसक्दा पाहुना टोलीको उपाधि जित्ने सपना अधुरो रह्यो ।
आजको खेलमा जाउलाखेलका जोकोचन राखीमोभ ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
अब शनिबार उपाधिको लागि आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लब आमनेसामने हुनेछ्न । तस्विर: सुदर्शन रन्जित







