पोखरा । पोखरा रंगशालामा जारी २५औं आहारारा पोखरा गोल्डकप-२०८२ अन्तर्गत पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा पाहुना टोली एभिए क्लब उज्बेकिस्तान विजयी भएको छ । एभिएले प्लानिङ ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
दिउँसो ३ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा पर्ख र हेरको रणनितिमा रहेका दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् ।
दोस्रो हाफमा भने दुवै टोलीले एट्याकिङ खेल पस्केको थियो । खेलको ५६औँ मिनेटमा एभिए एफसीका उमिद्जोन कारिलोभले लगभग ३६ यार्डपरबाट हानेको पावरफुल सट सिधै गोलमा परिणत भएको थियो ।
यता भर्खरै मात्र बुढा सुब्बाकपको उपाधि जितेर आएको प्लानिङले खेलमा फर्कन भरमक्दुर प्रयास गरे पनि फिनिसिङमा चुक्ता यो वर्ष आहारारा गोल्डकपको यात्रा क्वाटरफाइनल मै समाप्त गर्न पर्यो । आजको खेलमा एभिएका निर्णायक गोलकर्ता कारिलोभ ‘म्यान अफ द म्याच’ घोषित भए ।
यस जितसँगै एभिए एफसी प्रतियोगिताको उपाधिको नजिक पुगेको छ भने प्लानिङ ब्वाइज युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ । भोलिको पहिलो सेमिफनल खेल दिनको ३ बजे पोखरा रंगशालामा आयोजक सहारा र मनाङ मस्र्यादी क्लबबिच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।तस्विरःशुर्दसन रञ्जित







