पोखरा । पोखरा–१२ माटेपानीस्थित हिल प्वाइन्ट माध्यमिक विद्यालयले आफ्नो ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा विद्यालय परिसरमै आयोजित समारोहमा अभिभावक, विद्यार्थी र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालय का उपकुलपति डा.कृष्णराज अधिकारीले घरलाई बालबालिकाको पहिलो पाठशालाका रूपमा परिभाषित गर्दै प्रविधिको सही प्रयोगले सिकाइ उपलब्धि वृद्धि गर्न सहयोग पुग्ने बताए । उनले प्रविधिको दुरुपयोगले गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी दिँदै अभिभावकलाई विशेष सतर्कता अपनाउन आग्रह गरे। “अहिलेको समयमा प्रविधि अपरिहार्य भइसकेको छ, तर यसको सकारात्मक प्रयोगमा जोड दिन जरुरी छ,” उनले भने ।
त्यसैगरी हिसान का केन्द्रीय अध्यक्ष युवराज शर्माले समयानुकूल शिक्षामा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक र व्यावहारिक पक्षलाई सशक्त बनाउनुपर्ने धारणा राखे । विद्यालयले आयोजना गरेको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले देखाएको सिर्जनशीलता र क्षमता प्रशंसनीय रहेको उनले बताए ।
विद्यालयका संस्थापक प्राचार्य तथा हिसान कास्की अध्यक्ष दिवाकर जैसीले गुणस्तरीय शिक्षालाई विद्यालयको मुख्य मन्त्र बनाइएको उल्लेख गरे । हाल करिब ८०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उनले शैक्षिक सत्र २०८३ देखि विद्यालयमा ‘रोबोट कक्षा’ सञ्चालन गरिने घोषणा गरे । उनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विद्यालयले उल्लेख्य उपलब्धि हासिल गरेको बताए ।
समारोहमा विद्यार्थीहरूले सांस्कृतिक तथा कलात्मक प्रस्तुति मार्फत उपस्थित दर्शकको मन जितेका थिए । उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरणसमेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयकी सुपरभाइजर दिव्या लामिछानेले स्वागत मन्तव्य राखेकी थिइन् भने प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक भावना लामिछानेले गरेकी थिइन् ।







