जारी आहारारा गोल्डकपः मनाङ मर्स्याङ्दी विजयी, सेमिफाइनल पुग्ने तेस्रो टोली बन्यो

पोखरा । जारी आहा रारा पोखरा गोल्ड कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) विजयी भएको छ । मनाङले थन्डरबोल्ट नर्थ युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यससँगै एमएमसी प्रतियोगिताको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ ।

पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि थप गरिएको पहिलो हाफको इन्जुरी समयमा एमएमसीका आशिष श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनाङका आशिष श्रेष्ठ ‘बेस्ट प्लेयर अफ द म्याच’ घोषित भए । उनले ट्रफीसँगै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

खेल अवधिभर दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । खेलमा निकै हावी भएको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि केही राम्रा अवसर बनाए पनि गोलमा परिणत गर्न सकेन । अन्ततः अतिरिक्त समयमा भएको एक मात्र गोल नै खेलको निर्णय बन्यो ।

यस जितसँगै मनाङ मर्स्याङ्दी क्लबले उपाधि यात्रा कायम राख्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । आहा रारा गोल्ड कपमा दर्शक उपस्थिति अपेक्षाकृत कम देखिए पनि प्रतिस्पर्धा भने रोमाञ्चक बन्दै गएको छ । भोलि अन्तिम क्वाटरफाइनल आभा फुटबल क्लब उज्वेकिस्तान र प्लानिङ ब्वाइज बिच दिनको ३ बजे हुने तालिका रहेको छ । तस्विरः शुर्दसन रञ्जित

Scroll to Top