कास्की जिल्लामा मापसे गरी स्कुल बस चलाउने ५ चालक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाएको आरोपमा पाँच जना चालकलाई पक्राउ गरेको छ ।

स्कुल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको व्यापक गुनासो आएपछि आज बिहान करिब ९ः३० बजे जिल्ला कास्की प्रहरी कार्यालय तथा मातहत समेतबाट ट्राफिक प्रहरी सहित टोलीले पोखराका विभिन्न स्थानमा चेकजाँच गरेको थियो । जाँचका क्रममा पाँच जना चालक मापसे गरेको अवस्थामा फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा पोखरा-१५ बस्ने ३३ वर्षीय आनन्द परियार, पोखरा-५ प्रस्याङ बस्ने ३७ वर्षीय गौतम गुरुङ, पोखरा-१५ बस्ने ४४ वर्षीय भक्तबहादुर गुरुङ, पोखरा-१६ बस्ने ४८ वर्षीय डम्बरबहादुर गुरुङ तथा पोखरा–१० रामबजार बस्ने ४७ वर्षीय पदम वि.क रहेका छन् ।

प्रहरीका अनुसार बालबालिकाको सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सवारी साधनमा मादक पदार्थ सेवन गरी सवारी चलाउनु गम्भीर लापरवाही भएको भन्दै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडा बनाइनेछ । साथै, सर्वसाधारणलाई यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालयमा सूचना दिन अनुरोध गरिएको छ ।

Scroll to Top