सुरज श्रेष्ठ/पोखरा । इंग्ल्यान्डविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेट समुदायबाट प्रशंसा बटुलेको नेपालले त्यसलाई निरन्तरता दिन सकेन । आईसीसी टी–२० विश्वकपअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो ।
नेपालले दिएको १२३ रनको लक्ष्य इटालीले ११.४ ओभरमै कुनै विकेट नगुमाई सहज रूपमा पूरा गर्यो । इटालीका ओपनर एन्थोनी मोस्का र जस्टिन मोस्काले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै नेपाली बलिङ आक्रमणलाई दबाबमा राखे । एन्थोनीले ३२ बलमा ६२ रन प्रहार गरे भने जस्टिनले ४४ बलमा अविजित ६० रन जोड्दै टोलीलाई जित दिलाए ।
क्रिकेट संघ बागलुङका अध्यक्ष विष्णु आचार्यले मुम्बईको वानखेडे मैदानमै पुगेर खेल प्रत्यक्ष अवलोकन गरेका थिए । खेलपछि प्रतिक्रिया दिँदै उनले नेपाल कुनै पनि समयमा खेलमा हाबी हुन नसकेको बताए ।
“इंग्ल्यान्डसँगको खेलमा देखिएको आत्मविश्वास आज देखिएन । पहिलो इनिङ्समा पिचअनुसार ब्याटिङ बन्न सकेन, ब्याट्सम्यानहरू खुलेर खेल्न सकेनन्,” आचार्यले भने । “लाइनअप ठीकै थियो, तर प्रतिस्पर्धात्मक स्कोर बन्न नसक्दा खेलमा फर्किन सकिएन ।”
उनले दोस्रो इनिङ्समा नेपाली बलरहरू प्रभावहीन बनेको उल्लेख गरे । “इटालीका ब्याट्सम्यानहरूले हाम्रा बलरहरूलाई सजिलै खेले । दबाब सिर्जना गर्न नसक्दा खेल एकतर्फी बन्यो,” उनले थपे ।
यस हारसँगै नेपालको सेमिफाइनल यात्रा जटिल बनेको छ । चार अंकसहित अघिल्लो चरणमा पुग्न अब बाँकी सबै खेल जित्नु अनिवार्य देखिएको छ ।
नेपालले अब स्कटल्यान्ड र वेस्ट इन्डिजविरुद्धका दुवै खेल जित्नुपर्नेछ भने इटालीले पनि आफ्नो बाँकी खेल जित्नुपर्ने समीकरण बनेको छ । यी परिणाम आए मात्र नेपालको सम्भावना जीवित रहनेछ ।
इंग्ल्यान्डविरुद्धको उत्साहजनक प्रदर्शनपछि समर्थकहरूले निरन्तरता अपेक्षा गरेका थिए । तर लय टुटेसँगै नेपाल दबाबमा परेको छ । अबका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गर्नु नै टोलीका लागि मुख्य चुनौती बनेको छ ।







