पोखरा । नतिजा परिवर्तन भइरहने क्षेत्रका रूपमा चिनिँदै आएको कास्की निर्वाचन क्षेत्र नं.१ फेरि एकपटक चर्चामा छ । मतदाताले समयअनुसार मत ‘स्विङ’ गर्दै आएका कारण यो क्षेत्र सधैं प्रतिस्पर्धात्मक मानिन्छ। यद्यपि पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचनमा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) विजयी हुँदै आएको छ ।
एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस रहँदै आएको छ। अघिल्ला निर्वाचनहरूमा पनि यी दुई दलबीच नै कडा प्रतिस्पर्धा हुने गरेको थियो । तर यसपटकको चुनावी परिदृश्य केही फरक देखिएको छ । पाँच वर्ष नपुग्दै विघटित प्रतिनिधिसभापछि हुन लागेको निर्वाचनमा नयाँ शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मैदानमा उत्रिएको छ । यसले कास्की–१ को प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।
विगतमा जस्तो यसपटक प्रतिस्पर्धा परम्परागत दलहरूमा मात्रै सीमित देखिँदैन । रास्वपाले पनि जितको दाबी गर्दै मतदातामाझ सक्रिय प्रचारप्रसार गरिरहेको छ। त्यस्तै, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका उम्मेदवार पनि मैदानमा छन् ।
रास्वपाले ‘भावी प्रधानमन्त्री’को रूपमा बालेन्द्र शाह (बालेन) लाई प्रस्ताव गर्दै चुनावी अभियानलाई तीव्र बनाइरहेको छ। यद्यपि प्रधानमन्त्री को बन्ला भन्ने टुंगो त चुनावी नतिजाले नै लगाउनेछ । संयोग के छ भने बालेन झापा–५ बाट उम्मेदवारी दिँदा कास्की–१ बाट भने खडकराज पौडेल (गनेस) उम्मेदवार बनेका छन् । यी दुवै २०७९ सालको स्थानीय तह निर्वाचनमा ‘अटेरी अभियान’मार्फत चर्चामा आएका पात्र हुन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिह्न लिएर बालेन मेयर निर्वाचित हुँदा पोखरामा पनि गनेसले ‘लौरो’ चिह्नमै मेयर पदमा उम्मेदवारी दिएका थिए। यद्यपि पोखरामा उनले ३ हजार ३० मत प्राप्त गरेका थिए ।
लेखकसमेत रहेका गनेस यसपटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार छ्न । उनका प्रमुख प्रतिस्पर्धी भने पुरानै स्थापित दलहरू छ्न । चुनाव नजिकिँदै जाँदा सबै दल घरदैलो कार्यक्रम र सभासमारोहमा व्यस्त छन्। तर रास्वपाले भने ‘स्थानीयसँग संवाद यात्रा’ सुरु गरेर फरक शैलीको चुनावी अभियान अघि बढाएको छ ।
माघ २१ गते रुपा गाउँपालिकामा संवाद यात्रा गर्दै उम्मेदवार पौडेलले आफू पदका लागि नभई देशको अवस्था सुधार्न राजनीतिमा आएको बताएका थिए । उनले नागरिकको अनुहारमा मुस्कान ल्याउने राजनीति आवश्यक रहेको धारणा व्यक्त गरे ।
“म राजनीतिमा पदका लागि होइन, देशको अवस्था सुधार्न आएको हुँ। जनताको अनुहारमा मुस्कान ल्याउने राजनीति गर्नुपर्छ । देशको मुहार हाँस्न जनताको विश्वास जित्नु पहिलो सर्त हो,” संवाद यात्राका क्रममा पौडेलले भने ।
कास्की–१ मा यसपटकको प्रतिस्पर्धा बहुपक्षीय बन्दै गएको छ। पुराना दलको प्रभाव, नयाँ शक्तिको आकर्षण र मतदाताको ‘स्विङ’ प्रवृत्तिले अन्तिम नतिजा कता जान्छ भन्ने चासो बढेको छ ।







