निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न

पोखरा । निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो ।

तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचन लोकतन्त्रको उत्सव भएकाले पत्रकारले निर्वाचनका बेला संवेदनशील र निष्पक्ष भएर समाचार जनतामाझ पस्कनुपर्ने बताईन । उनले स्वच्छ, शान्त र निष्पक्ष निर्वाचन सम्पन्न गराउन आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै गरिन ।

तालिममा सहभागी पत्रकारहरू शिशिर पौडेल, खिमा गुरुङ र तिलक पुनले तालिमबाट निर्वाचन प्रक्रिया तथा रिपोर्टिङका विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको र सिकेका विषयलाई कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तालिममा गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकाल, प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछाने, समाधान दैनिकका प्रधान सम्पादक भरत कोइराला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डे तथा कास्की निर्वाचन क्षेत्र नं.२ का सहायक निर्वाचन अधिकृत दीपक गिरीले प्रस्तुतीकरण दिएका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयमुक्त र धाँधलीरहित बनाउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहने भएकाले निर्वाचनसम्बन्धी रिपोर्टिङ तालिम आयोजना गरिएको बताए । उहाँले पत्रकारिता सधैं देश र जनताको पक्षमा हुनुपर्नेमा जोड दिए ।

विभिन्न सञ्चारमाध्यममा आबद्ध ७५ जना पत्रकार सहभागी रहेको उक्त तालिममा निर्वाचनसम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता तथा निर्वाचन सुरक्षा संवेदनशीलता लगायतका विषय समेटिएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले दिए ।

महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भूपाल गुरुङले गरेका थिए ।

Scroll to Top