आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपालले आज समूह ‘सी’ को दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि अत्यन्त निर्णायक बनेको छ ।
पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । त्यसैले सुपर–८ को सम्भावना जिवित राख्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ । अर्को हारले विश्वकप यात्रा लगभग समाप्त हुन सक्छ ।
वानखेडेमा यसअघि खेलिसकेको नेपाललाई पिच र कन्डिसनको अनुभव फाइदाजनक हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ। उनले इटालीलाई बलियो टोली बताउँदै कुनै पनि प्रतिद्वन्द्वीलाई हल्का रूपमा नलिने स्पष्ट पारेका छन् ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख मुख्य आशा हुन् । कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीका भरोसायोग्य स्तम्भ मानिन्छन् । बलिङतर्फ सन्दीप लामिछानेको लेग स्पिनसँगै करण केसी र नन्दन यादवको तीव्र गति निर्णायक बन्न सक्छ ।
पहिलो पटक विश्वकप खेलिरहेको इटालीलाई कप्तान वेन म्याडसनको अनुपस्थिति कमजोर पक्ष हुन सक्छ। तर टोलीले जित निकाल्दै आफ्नो क्षमता प्रमाणित गर्ने लक्ष्य राखेको छ ।
आजको खेलको अर्को रोचक पक्ष भनेको दुर्लभ कीर्तिमानको सम्भावना हो। नेपालका आरिफ–आसिफ शेख र इटालीका मानेन्टी तथा मुस्का दाजुभाइ गरी तीन जोडी दाजुभाइ एकै खेलमा मैदान उत्रन सक्छन् ।
नेपालका लागि यो खेल १२ वर्षपछि विश्वकपमा जितको स्वाद चाख्ने सुनौलो अवसर पनि हो । त्यसैले आजको भिडन्त साँच्चै नै ‘गर या मर’को अवस्थामा पुगेको छ ।







