
पोखरा । आहा रारा पोखरा गोल्डकप २०८२ अन्तर्गत मंगलबार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले मछिन्द्र एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा आक्रामक बनेको जावलाखेलका लागि ५४औँ मिनेटमा निकोलस ओडाने ह्यामिल्टनले गोल गर्दै अग्रता दिलाए। त्यसको १२ मिनेटपछि बौबाकर सिसोखोले अर्को गोल थप्दै जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर उनेश चौधरीका कारण जावलाखेलले क्लिनसिट कायम राख्न सफल भयो ।
खेलका ‘प्लेयर अफ द म्याच’ जावलाखेलका निकोलस ओडाने ह्यामिल्टन घोषित भए । यस जितसँगै जावलाखेल अर्को चरणमा प्रवेश गरेको छ भने मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार नेपाल एपीएफ क्लब र मनाङ मस्यार्दी क्लबबीच प्रतिस्पर्धा हुने संयोजक पूर्ण गुरुङले जानकारी दिए ।
यसैबीच, प्रतियोगितालाई पहिलो पटक फ्लडलाइटमा सञ्चालन गर्ने घोषणा गरिए पनि प्राविधिक समस्याका कारण दोस्रो दिनको खेलमै अवरोध देखिएको छ। बाँकी खेल फ्लडलाइटमा सञ्चालन हुने विषयमा प्राविधिक टोलीसँग छलफल भइरहेको र अन्तिम निर्णय हुन बाँकी रहेको संयोजक गुरुङले बताए ।तस्विरः शुदर्शन रञ्जित







