
सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको भीषण बस दुर्घटनाका मृतकका परिवारलाई आर्थिक राहत दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यसैगरी, बैठकले दुर्घटनामा परी घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।
बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ गइरहेको बस बिहीबार राति पुर्चौडी नगरपालिका–७ बडगाउँमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।
घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रदेश सरकारले घाइतेहरूको थप उपचार आवश्यक परे काठमाडौंसम्म लैजान हेलिकोप्टरको व्यवस्था समेत गर्ने जनाएको छ ।






