
पोखरा । ग्याल्पो ल्होसारको अवसरमा पहिलोपटक पोखरामा ‘साँस्कृतिक सम्पदा तथा पर्यटन महोत्सव’ आयोजना हुने भएको छ ।
कार्यक्रमका संयोजक तथा पोखरा र MedinConnect नेपालका अध्यक्ष डा.विष्णु भुसालले महोत्सवको उद्देश्य पोखरालाई सांस्कृतिक तथा पर्यटन पहिचानमा अझ बलियो बनाउनु रहेको बताए । उनले पोखरालाई “नेपालको सांस्कृतिक राजधानी” का रूपमा स्थापित गर्ने दीर्घकालीन सोच यस महोत्सवले अघि बढाउने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार महोत्सव केवल मनोरञ्जनका लागि मात्र नभई सामुदायिक सद्भाव, सहकार्य र सांस्कृतिक निरन्तरताको प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुनेछ । यसले पोखराको हिमाली पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नसमेत टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
महोत्सवका आकर्षणहरू :
-परम्परागत सांस्कृतिक प्रस्तुति
-लोक नृत्य तथा सांगीतिक कार्यक्रम
-स्थानीय परिकार प्रदर्शनी
-हस्तकला तथा पर्यटन प्रदर्शनी
-अन्तरक्रिया तथा छलफल
कार्यक्रमका लागि पोखरा महानगरपालिका, नेपाल पर्वतारोहण संघ (NMA), STEAN लगायत साझेदार संस्थाहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रम डा.गिरधारी शर्माले सञ्चालन गरेको थियो भने ICPD का महासचिव तथा पर्यटन व्यवसायी पेम्बा शेर्पाले महोत्सवबारे विस्तृत जानकारी गराएका थियो ।







