
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो ।
सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै जितको बाटोमा फर्काएका हुन् । दुवैले चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।
नेपालले १४६ रनको लक्ष्य पछ्याउने क्रममा ६.५ ओभरमै ४५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो । ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवै ८/८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर रनआउट भएपछि नेपाल दबाबमा परेको थियो ।
त्यसपछि मैदानमा आएका आरिफ शेख र पहिलेबाट क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरीले संयमित र आक्रामक ब्याटिङको उत्कृष्ट संयोजन प्रस्तुत गरे । आरिफले ३७ बलमा दुई छक्का र आठ चौकाको मद्दतमा अविजित ६१ रन बनाए भने दीपेन्द्रले ३१ बलमा एक छक्का र चार चौकासहित नटआउट ५० रन जोडे ।
नेपालले १७ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै १८ बल बाँकी छँदै खेल समाप्त गर्यो। यसअघि यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए ।
नेपालका बलरहरू प्रभावशाली देखिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे । विश्वकपअघि मध्यक्रमले देखाएको धैर्य र जिम्मेवारीपूर्ण प्रदर्शन नेपाली टोलीका लागि सकारात्मक संकेत मानिएको छ ।
अब नेपालले दोस्रो वार्म–अप खेलमा बिहीबार क्यानडासँग खेल्नेछ भने विश्वकपको पहिलो आधिकारिक खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ ।







