पोखरामा फोहोर संकट: जिम्मेवारी, राजनीति र वातावरणीय न्याय, सम्वन्धित निकायलाई ध्यानाकर्षण

santan ads

कविराज खनाल/पोखरा । पोखरामहानगरपालिका पछिल्लो समय गहिरिँदै गएको फोहोर संकटका कारण जनस्वास्थ्य, वातावरण र शहरी व्यवस्थापनको गम्भीर बहसको केन्द्रमा पुगेको छ ।

सडक, चोक र सार्वजनिक स्थलमा थुप्रिएको फोहोर केवल दुर्गन्ध र असहजताको विषय मात्र बनेको छैन, यसले शहरी शासन, सार्वजनिक उत्तरदायित्व र वातावरणीय न्यायमाथि नै प्रश्न खडा गरेको छ ।

यो संकटसँगै सबैभन्दा गहिरो प्रश्न उठेको छ—के पोखरा महानगरपालिकाका ३३ वटै वडाबाट उत्पादन हुने फोहोरको सम्पूर्ण जिम्मेवारी पोखरा ३२ र मेयरको मात्र हो ?

अस्थायी समाधानबाट स्थायी समस्या आज विवादको केन्द्रमा रहेको पोखरा–३२ लामेआहार क्षेत्र करिब तिन बर्ष अघि महानगरपालिकासँग सहकार्य गर्दै अस्थायी डम्पिङ साइटका रूपमा प्रयोगमा आएको थियो। त्यो निर्णय तत्कालीन संकट टार्ने उद्देश्यले गरिएको अस्थायी व्यवस्था थियो, दीर्घकालीन समाधानको स्वीकृति होइन ।

तर समयक्रममा महानगर नेतृत्वले विकल्प खोज्ने अवसरलाई गम्भीर रूपमा लिन नसक्दा अस्थायी व्यवस्था नै स्थायी समस्यामा रूपान्तरण भएको देखिन्छ । स्थानीयवासीका अनुसार, सहकार्यलाई कमजोरी ठानी एउटै वडामाथि सम्पूर्ण महानगरको फोहोर थोपर्ने प्रवृत्तिले वडा नं. ३२ आज “फोहोर व्यवस्थापनको बलिको बोका” बनेको छ ।

साझा समस्या, साझा जिम्मेवारीवातावरणविद् र शहरी योजना विज्ञहरू स्पष्ट भन्छन् फोहोर व्यवस्थापन कुनै एक वडा वा व्यक्तिको समस्या होइन, यो सम्पूर्ण महानगरपालिकाको साझा दायित्व हो ।

तर व्यवहारमा संकट आउनासाथ जिम्मेवारी एउटै वडामाथि थोपर्ने प्रवृत्तिले स्थानीय असन्तोष, अवरोध र सामाजिक तनाव बढाएको छ ।

नेपालकै पर्यटकीय राजधानी, सात तालको नगरी, हिमालयको प्रवेशद्वार, गर्ग च्यवन ऋषिमुुनिको तपो भुमि र शैक्षिक केन्द्र पोखरालाई “फोहोरको स्थायी गन्तव्य”झैँ व्यवहार गरिनु केवल पर्यावरणीय अन्याय मात्र होइन, नीतिगत असन्तुलनको स्पष्ट संकेत हा े।

समस्या मेयर होइन, समस्या हामी फोहोर संकटको दोष केवल मेयर, वडा नं. ३२ वा त्यहाका जनतालाई वा कुनै एक समुदायलाई दिएर समाधान सम्भव छैन ।

समस्या हामी सबै हौं—फोहोर उत्पादन गर्ने हामी, तर व्यवस्थापन अरूले गरून् भन्ने मानसिकता हामीमै छ ।

वडा नं. ३२ महानगरको आँगन हो । आँगनमै फोहोर थुपारेर सभ्य महानगरवासी बन्न सकिँदैन ।

आँगन सफा, हराभरा र सुरक्षित भएपछि मात्र ‘स्मार्ट सिटी’ र ‘पर्यटकीय राजधानी’को सपना साकार हुन सक्छ ।

वडा–आधारित व्यवस्थापनको आवश्यकता अब ढिलाइ नगरी वडा–आधारित फोहोर व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने देखिन्छ ।

महानगरपालिका र मेयरको भूमिका नीति निर्माण, समन्वय र नियमनमा केन्द्रित हुनुपर्छ । यदि दीर्घकालीन रूपमा जुन वडामा ब्यव्स्थापन गर्ने हो सो वडालाई ,महानगरको कम्तीमा ५० प्रतिशत विकास बजेट सोही क्षेत्रका वडामा लगानी हुनु नै नैतिक, सामाजिक र मानवीय रूपमा उचित हुन् ।

नत्र, सिद्धान्त स्पष्ट हुनुपर्छ—जसले फोहोर उत्पादन गर्छ, उसैले व्यवस्थापन गर्नुपर्छ । फोहोरमा मिसिएको राजनीतिअझ गम्भीर पक्ष के हो भने, फोहोर संकटमा पछिल्लो समय राजनीतिक स्वार्थको गन्ध मिसिन थालेको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा फोहोर समस्या चुनावी एजेन्डा बन्दै गएको देखिन्छ ।

दुई सातादेखि सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध छल्दै उम्मेदवारहरू मतदातासामु आश्वासन बाँडिरहेका छन् ।

दीर्घकालीन समाधानमा भूमिका खेल्नुपर्ने राजनीतिक दलहरू नै आज फोहोरलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिरहेको आरोप स्थानीयस्तरमा लाग्दै आएको छ । विकल्प खोज्न चुक्दा बढेको संकट पोखरा–३२ लामेआहारस्थित अस्थायी ल्यान्डफिल छ महिनाका लागि बनाइएको भए पनि पटक–पटक अवरोध हुँदा विकल्प नखोजिनु आजको संकटको मुख्य कारण बनेको छ ।

साविक लेखनाथ क्षेत्रका धेरै वडाले आफ्नै फोहोर आफैं व्यवस्थापन गरिरहेका छन् भने, पोखरा क्षेत्रका वडा नं. १ देखि २५ सम्मबाट बढी फोहोर उत्पादन भइरहेको तथ्यले असमान बोझको चित्र स्पष्ट देखाउँछ ।

पोखरा–३३ मा फोहोर प्रशोधन केन्द्र बनाउने घोषणा भए पनि जग्गा खरिद, मुआब्जा र ठेक्का प्रक्रिया स्वार्थ समूहको चंगुलमा फसेको आरोप लाग्दै आएको छ ।मझुवा ः विकास र जनस्वास्थ्यको टकराव यसैबीच पोखरा–३२ अन्तर्गत मझुवा क्षेत्र पनि फोहोर व्यवस्थापनको नयाँ विवादको केन्द्र बनेको छ ।

मिलीजुली मझुवा समाज र दिव्यालो युवा क्लबले वैज्ञानिक आधार, वातावरणीय मूल्याङ्कन र स्थानीय सहमति बिना फोहोर थुपार्न नहुने भन्दै औपचारिक आपत्ति जनाएका छन् र स्थानीय वासी वडा न्. ३२ कार्यालयमा लगायत विभिन्न सम्वन्धित निकायमा प्लेकार्ड सहित आज ज्ञापन पत्र समेत बुझाई सकेका छन् ।

मझुवा क्षेत्र गर्ग च्यवन ऋषि मुनिको धार्मिक क्षेत्र, उपत्यकाकै प्रवेशद्धार, कृषि, घना बस्ती र पानीका प्राकृतिक स्रोतसँग जोडिएको संवेदनशील भूभाग हो।

स्वास्थ्य विज्ञहरूका अनुसार यहाँ अव्यवस्थित फोहोर थुपारिँदा झाडापखाला, छालासम्बन्धी रोग, श्वासप्रश्वास समस्या तथा भू–जल प्रदूषणको दीर्घकालीन जोखिम बढ्न सक्छ ।

निष्कर्षमा समाधान हामीबाटै सुरु हुन्छ पोखराको फोहोर संकटले एउटा स्पष्ट सन्देश दिन्छ—फोहोर समस्या होइन, समस्या हाम्रो सोच, व्यवहार र निर्णय प्रक्रिया हो । दीर्घकालीन समाधानका लागि महानगरपालिकाले स्थानीयको आवाज सुन्ने, वैज्ञानिक र वातावरणमैत्री प्रविधि अपनाउने तथा पारदर्शी र सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्नैपर्छ । नत्र, फोहोर व्यवस्थापनको समस्या समाधान हुनुको सट्टा सामाजिक द्वन्द्व, अविश्वास र जनअसन्तोषको स्थायी कारण बन्ने खतरा कायमै रहनेछ । समस्या हामी हौं । समाधान पनि हामीमै छ । यसमा महानगरको ठुलो भुमिका रहन्छ दिर्घकालिन र महत्वपुर्ण भुमिका फोहोर ब्यवस्थापनको जिम्मा ।

Scroll to Top