इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं : जेहुन

santan ads

एजेन्सी । अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि आफ्नो हवाई क्षेत्र वा भूमि प्रयोग गर्न नदिने घोषणा गरेको छ ।

अजरबैजानका विदेशमन्त्री जेहुन बायरामोवले बिहीबार यो कुरा बताएका हुन् ।

इरानमाथि अमेरिकाले सैन्य हमला गर्न सक्ने आशंका बढिरहेका बेला अजरबैजानको यो बयान आएको हो । 

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो भूमिबाट इरानविरुद्ध कुनै सैन्य कारबाही गर्न अनुमति नदिने स्पष्ट गरिसकेको थियो। साउदी अरबले पनि यस्तै धारणा सार्वजनिक गरेको छ । 

अजरबैजानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री बायरामोवले बिहीबार इरानका विदेशमन्त्री अब्बास अराग्चीसँग फोन वार्ता गरेका थिए। उक्त क्रममा उनले पछिल्लो समय क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका छन् । 

बायरामोवले अजरबैजानले निरन्तर सबै पक्षलाई यस्ता कदम र अभिव्यक्तिबाट टाढा रहन आग्रह गर्दै आएको बताए । इरान र वरपरका क्षेत्रमा अस्थिरता निम्त्याउन सक्ने भएकाले युद्ध जरूरी नभएको उनले बताएका थिए । 

उनले सबै समस्याको समाधान अन्तर्राष्ट्रिय कानुनका नियम र सिद्धान्तअनुसार संवाद र कूटनीतिक माध्यमबाट मात्रै हुनुपर्नेमा जोड दिएका छन् । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि भएको हिंसात्मक कारबाहीपछि अमेरिका इरानमाथि नजिकबाट निगरानी गरिरहेको बताएका थिए । उनले अमेरिकाको एक ‘युद्ध जहाज’ खाडी क्षेत्रतर्फ अघि बढिरहेको पनि बताएका छन् । 

Scroll to Top