कास्की–१ मा कांग्रेसका दुई सम्पर्क कार्यालय स्थापना

santan ads

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले चुनावी अभियानलाई प्रभावकारी बनाउन पोखरा ३० को खुदी र ३१ को मोहरियामा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा सूचना, सञ्चार तथा आइटी समितिका संयोजक नवीन सिग्देलले दुवै स्थानमा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिए ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलकबहादुर रानाभाटले देशलाई संकटबाट जोगाउन नेपाली कांग्रेसलाई बहुमत आवश्यक रहेको बताए । उनले आफू देश र जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनता र देशको आवश्यकता नै आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले कांग्रेसको नेतृत्वमा मात्रै देशले निकास र विकास पाउने बताए। केन्द्रीय सदस्य कृष्ण केसीले पार्टीभित्रका सबै नेता तथा कार्यकर्ताले आफूलाई नै तिलक रानाभाट ठानेर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापाले कांग्रेस नै देशको भविष्य भएको उल्लेख गरे। त्यसैगरी कास्की कांग्रेसका सभापति किशोर दत्त बरालले सुधारिएको कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा ३० का सभापति धु्रवराज न्यौपाने, पोखरा ३१ का कार्यवाहक सभापति भानुभक्त पौडेल, उपसभापति डम्मरु बल्लभ चापागाई र वीरबहादुर लामा वाइबा, सचिवहरू रामचन्द्र अधिकारी, श्रीराम कडेल र वीरभद्र कडेल तथा युवा नेता प्रतापमोहन पौडेललगायतले धारणा राखेका थिए ।

Scroll to Top