क्रिकेट विश्वकप यात्रा टुट्यो: नेपालको सपना अधुरै

santan ads

काठमाडौ । स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै घरेलु टोली नेपाल आईसीसी टी– २० विश्वकपको ग्लोबल क्वालिफायरमा समूह चरणबाटै बाहिरिएको छ ।  यससँगै विश्वकपमा पुग्ने नेपालको सपना सपना मै सिमित भएको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमै समेटियो । 

नेपालका लागि रोम थापाले अविजित १४, विन्दु रावलले १४ र रुविना क्षेत्रीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

अब्ताहा मकसुदले ३, क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले २–२ तथा राहेल स्लेटर र ओलिभिया बेलले १–१ विकेट लिए । 
  
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो । 

प्रियनाज चटर्जीले अविजित ४५, एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ र राहेल स्लेटरले ११ रन बनाए । 

नेपालका लागि मनिषा उपध्यायले ४, रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले १–१ विकेट लिए । 

यो हारसँगै ४ खेलमा २ अंक जोडेको नेपाल समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट ४ अंकका साथ सुपर सिक्सको यात्रा तय गरेको छ । स्कटल्यान्डको जितसँगै थाइल्यान्ड पनि सुपर सिक्समा पुगेको छ । 

Scroll to Top