टाइगर कपः न्यू डायमण्डको लगातार दोस्रो जित, थाइल्याण्ड क्विन्सको पुनरागमन जित

santan ads

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपअन्तर्गत महिलातर्फ आज दुई रोचक खेल सम्पन्न भएका छन् । न्यू डायमण्ड स्पोर्ट्स क्लबले लगातार दोस्रो जित दर्ता गर्दा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबमाथि पाँचौं सेटसम्म पुगेको संघर्षपूर्ण खेलमा पुनरागमन जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आजको पहिलो खेलमा न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । न्यू डायमण्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सुमित्रा रेग्मी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । यसअघि न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो भने एपीएफले यस प्रतियोगितामा पहिलो हार व्यहोरेको हो ।

आजकै दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गर्दै पुनरागमन जित हात पार्‍यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले उत्कृष्ट खेल प्रदर्शन गर्दै पछिल्ला तीन सेट जित्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर त्यसपछि थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ र निर्णायक पाँचौं सेट १६–१४ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो । यसअघि थाइल्याण्ड पहिलो खेलमा एपीएफसँग पाँचौं सेटमा पराजित भएको थियो भने पुलिसले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको थियो ।

महिलातर्फका खेल सकिएसँगै आज पुरुषतर्फका खेल पनि आयोजना हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् भने दोस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुने तालिका रहेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Scroll to Top