
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा लगातार दुई खेल हारेपछि नेपाल दबाबमा छ। शनिबार कीर्तिपुरमा दिउँसो १ बजे नेपालले अफ्रिकी च्याम्पियन जिम्बाब्वेसँग तेस्रो खेल खेल्दैछ । दुवै टोली अहिलेसम्म अंकविहीन छन् ।
समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर–६ मा पुगिसकेको छ भने थाइल्यान्ड र स्कटल्यान्ड बलियो स्थितिमा छन्। सुपर–६ मा पुग्ने सम्भावना जिवित राख्न नेपाललाई जिम्बाब्वेविरुद्ध जित अनिवार्य छ ।
हालसम्म नेपालका लागि ब्याटिङ र बलिङ दुवै कमजोर देखिएका छन्, विशेषगरी माथिल्लो क्रमका ब्याटरको प्रदर्शन चिन्ताजनक छ । यद्यपि जिम्बाब्वे पनि प्रतियोगितामा कमजोर देखिएको टोली भएकाले नेपालका लागि यो खेल निर्णायक अवसर हो ।
समूह ‘ए’ मा शनिबार नामिबिया र पपुवा न्यू गिनी (पीएनजी) बीच मुलपानीमा बिहान ९ बजे खेल हुनेछ। सोही मैदानमा दिउँसो १ बजे बंगलादेश र आयरल्यान्ड आमनेसामने हुनेछन् ।
बंगलादेश तीन खेल जित्दै ६ अंकसहित सुपर–६ मा पुगिसकेको छ। चार अंकसहित आयरल्यान्ड दोस्रो स्थानमा छ र शनिबार जित निकाले सुपर–६ मा प्रवेश गर्नेछ । अमेरिका दुई अंकसहित तेस्रो स्थानमा छ भने पीएनजी र नामिबिया अंकविहीन छन् ।







