
काठमाडौं । एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लबले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । बिहीबार ललितपुरको च्यासलस्थित च्यासल मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाइजलाई ४–१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो ।
एपीएफको जितमा समिराज थोकरले खेलको २२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि प्रदीप लामाले ३८औँ मिनेटमा गोल थप्दै पहिलो हाफमै एपीएफलाई मजबुत स्थितिमा पुर्याए । दोस्रो हाफमा युवराज खड्काले ६०औँ र ७७औँ मिनेटमा दुई गोल गर्दै एपीएफको जित सुनिश्चित गरे ।
चर्च ब्वाइजका लागि मिलन राजले खेलको ८२औँ मिनेटमा सान्त्वना गोल गरे ।
यो जितसँगै एपीएफले दुई खेलबाट पूर्ण ६ अंक जोडेको छ भने समान दुई खेल खेलेको चर्च ब्वाइजले १ अंकमै सीमित हुनुपरेको छ ।







