
पोखरा । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेड–आरएसआरएसडीको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीसँग समन्वय गर्दै एकदिने तालिमको आयोजना गरेको हो ।
‘भ्याट के हो र यसले राजश्वमा कति योगदान दिएको छ भन्ने कुरामात्र हैन, भ्याट कसरी तिर्ने,बिल–बिजक कसरी राख्ने अनि दण्ड–जरिवानाबाट कसरी बच्ने भन्ने कुरा पत्रकारले पनि थाहा पाउनुपर्छ भन्ने सोचेर तालिम आयोजना गरिएको हो,’आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भने,‘कतिपय अवस्थामा गलत सूचना जाँदा फलानो व्यवसायीले भ्याट छल्यो भन्ने अफवाहसमेत फैलिने गरेको छ । संचार जगतले भ्याटबारे जानकारी पाउँदा गलत समाचार आउँदैनन् भन्ने पनि हामीले ठानेका छौँ ।’
तालिमको उद्घाटन सत्रकी प्रमुख अतिथि गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी सूचना दिनु र सही सूचना दिनु फरक कुरा भएको बताउँदै भ्याटबारे जानकारी राख्दा पत्रकारको दैनिक जीवनमा पनि त्यसले सघाउने बताइन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले कर आफैंमा जटिल विषय भए पनि आम नागरिकको चासोमा रहने हुँदा सरल तरिकाले यसबारे बुझाउनको लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पोउवा संघका सुचना अधिकृत पत्रकार बासु मिश्रले देशैभरका उद्योग वाणिज्य संघहरु भ्याटको विपक्षमा हुँदा पोखरा उद्योग वाणिज्य संघ भ्याट कार्यान्वयनको पक्षमा उभिएको तर,सुधार र कार्यान्वयमा ल्याउन समय माग गर्दै अन्तत: २०५४ साल मंसिर १ गते नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आएको स्मरण गराए ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार तालिममा करिब ६५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । चार्टर्ड एकाउण्टेण्ट विवेक श्रेष्ठले सो तालिमको सहजीकरण गरेका थिए ।
संघकी महासचिव गौतमका अनुसार संघले इच्छुक संचारकर्मीको लागि दोस्रो चरणमा पनि भ्याटबारे तालिम दिने छ ।







