us army return

इरानको जवाफी हमला गर्ने धम्की पछि ट्रम्पले फिर्ता बोलाए आफ्ना सैनिक

santan ads

एजेन्सी । इरानले आफूविरुद्ध सैन्य आक्रमण भए अमेरिकामाथि जबाफी हमला गर्ने चेतावनी दिएपछि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना प्रमुख सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाउन थालेको छ ।

इरानमा चर्किँदै गएको सरकारविरोधी प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार सैन्य कारबाहीको चेतावनी दिँदै आएका थिए । त्यसको प्रत्युत्तरमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैनिक अड्डाहरूलाई निशाना बनाइने चेतावनी दिएका थिए ।

इरानी चेतावनीपछि अमेरिकाले कतार, बहराइन लगायतका देशहरूमा रहेका सैनिक अड्डाबाट केही कर्मचारी फिर्ता बोलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार कतारको अल उदैदस्थित अमेरिकी सैनिक अड्डाबाट राष्ट्रपति ट्रम्पको निर्देशनमा केही सैनिक कर्मचारी फिर्ता बोलाइसकिएको छ ।

कतारस्थित उक्त सैनिक अड्डा यसअघि पनि इरानको निशानामा परिसकेको थियो । गत जुन महिनामा अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा शक्तिशाली बम आक्रमण गरी ती संरचनाहरू ध्वस्त बनाएको थियो । त्यसको जवाफमा इरानले कतारमा रहेको अमेरिकी सैनिक अड्डामा हवाई आक्रमण गरेको थियो । यसपालि पनि इरानबाट सम्भावित आक्रमण हुन सक्ने आशंकामा कर्मचारी फिर्ता बोलाइएको सिएनएनले जनाएको छ ।

अमेरिकाले सैनिक कर्मचारी फिर्ता बोलाएपछि कतार सरकारले आफ्ना नागरिक र बासिन्दाको सुरक्षाका लागि आवश्यक सबै उपायहरू कार्यान्वयन गरिने जनाएको छ ।

यस कदमलाई अर्को कोणबाट पनि हेरिएको छ । ह्वाइट हाउसका केही अधिकारी र युरोपेली अधिकारीहरूले अमेरिकाले इरानमाथि सम्भावित आक्रमणको पूर्वतयारीस्वरूप मध्यपूर्वका सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाएको हुन सक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले युरोपेली दुई अधिकारीलाई उद्धृत गर्दै आगामी २४ घन्टाभित्र अमेरिकाले इरानमा हमला गर्न सक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

पश्चिमी अधिकारीहरूका अनुसार आन्दोलनले इरानी सरकारलाई केही कमजोर बनाएको भए पनि तत्काल सत्ता ढल्ने सम्भावना कम देखिन्छ । सुरक्षा संयन्त्र अझै सरकारकै नियन्त्रणमा रहेको र सरकारी पक्षधर सञ्चारमाध्यमहरूले सरकार समर्थक विशाल जुलुस र सभालाई प्राथमिकताका साथ प्रसारण गरिरहेको रोयटर्सले उल्लेख गरेको छ ।

इरानका राष्ट्रपति मसुद पेजेशकियानले जनसमर्थन कायम रहँदासम्म शत्रुको प्रयास असफल हुने दाबी गरेका छन् ।

Scroll to Top