
पोखरा । बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति भएको खेलमा रेसिङ सान्टानडरलाई २–० ले पाखा लगाउँदै बार्सिलोनाले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो।
रेसिङ सान्टानडरको घरेलु मैदानमा भएको उक्त प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको बार्सिलोनाका लागि ६८औँ मिनेटमा फेरान टोरेसले खाता खोले। उनले फर्मिन लोपेजको पासलाई सदुपयोग गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको अन्तिम समय (इन्जुरी टाइम) मा युवा स्टार लामिन यामलले अर्को गोल थप्दै बार्सिलोनाको जित पक्का गरे।
यसपटक उपाधि दाबेदार मानिएको रियल मड्रिड अल्बासेटेसँग पराजित भई प्रतियोगिताबाट बाहिरिसकेको छ, जसका कारण बार्सिलोनालाई उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।
अर्कोतर्फ, बुर्गोसलाई २–० ले नै पराजित गर्दै भ्यालेन्सियाले पनि क्वाटरफाइनलको यात्रा तय गरेको छ।
अन्तिम आठमा ला लिगाका ७ क्लब र दोस्रो श्रेणी (सेगुन्डा डिभिजन) बाट रियल मड्रिडलाई स्तब्ध पारेको अल्बासेटे गरी कुल ८ टोली छानिएका छन्।
प्रतियोगिताको क्वाटरफाइनल ड्र जनवरी १९ मा हुनेछ भने क्वाटरफाइनल खेलहरू फेब्रुअरी ३ देखि ५ सम्म सञ्चालन हुने तालिका रहेको छ।







