
सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हुन लागेको मिस तामाङ पोखरा–२०२६ का प्रतियोगी युवतीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी प्रतियोगीहरूले आफूभित्र निहित कला, सीप तथा सिर्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगी रोज स्याङदेन लामाले सेल्फ ब्राइडल मेकअप, कविना घिसिङ तामाङले मेकअप कला, सोनी पाख्रिन तामाङले तामाङ सेलोमा आकर्षक नृत्य प्रस्तुत गरिन्।
त्यसैगरी माया दुम्जन तामाङ र सुप्रिया गोले तामाङले गीत गायन, खुसी मोक्तान तामाङले लोक नृत्य प्रस्तुत गरिन्। सलिना स्याङदेन तामाङले चित्रकला तथा सोममाया मोक्तान तामाङले हस्तकलाका सामग्री निर्माण गरी प्रदर्शन गरेकी थिइन्।
प्रतिभा प्रस्फुटन कार्यक्रमका निर्णायकहरूमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष तथा सञ्चारकर्मी कञ्चन थापा, र एसके डान्स एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक माया लामा रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको प्रस्तुति उच्चस्तरीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले तामाङ समुदायको मौलिक कला, संस्कृति र आत्मविश्वास उजागर गर्ने बताएका थिए।
गीतकार तीर्थ तामाङले प्रतियोगीहरू केवल सौन्दर्यको प्रतिनिधि मात्र नभई तामाङ संस्कृतिको पहिचान र भविष्यका सशक्त वाहक भएको धारणा व्यक्त गरे। नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले प्रतियोगिताले युवतीहरूको नेतृत्व क्षमता र सिर्जनशीलता उजागर गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक रोशिला ब्लोन तामाङले स्वागत मन्तव्य दिँदै प्रतियोगीहरूलाई शुभकामना व्यक्त गरेकी थिइन्।
अध्यक्ष तामाङले मिस तामाङ पोखरा प्रतियोगिता संस्कृतिसँगै पहिचान, क्षमता र आत्मसम्मानको उत्सव भएको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ परिस्कृत र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
मिस तामाङ पोखरा–२०२६ को ग्राण्ड फिनाले यही माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा हुने आयोजकले जनाएको छ। ग्राण्ड फिनालेमा ८ जना युवती सहभागी हुनेछन्।
ग्राण्ड फिनाले कार्यक्रममा कलाकारहरू बुद्धी तामाङ, दिनेश डिसी, फुलकुमार बोम्जन, विवेक दोङ, सन्तोष बस्याललगायतको विशेष प्रस्तुति रहनेछ। कार्यक्रम नेपाल सरकारका निवर्तमान ऊर्जा मन्त्री तथा ‘उज्यालो नायक’ कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन्। फस्ट रनरअपले नगद ५० हजार, सेकेन्ड रनरअपले नगद ३० हजार, तथा भ्युअर्स च्वाइसतर्फ एक जनाले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।







