
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियाको जेद्दाहमा भएको खेलमा रियल म्याड्रिडलाई ३–२ ले हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कप जितेको हो । यो जीतसँगै हान्सी फ्लिकको टोलीले १६औँ पटक स्पेनिस सुपर कप जितेको छ ।
बार्सिलोनाले गएको वर्ष पनि फाइनलमा रियललाई हराएको थियो । खेलको ७३औँ मिनेटमा राफिन्हाले गरेको गोल निर्णायक बन्यो । राफिन्हाले ३६औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि थपिएको समयमा दुवै टोलीबाट छिटोछिटो ३ गोल भए र पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको थियो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल गरे । उनले १७ खेलपछि रियलका लागि गोल गरेका हुन् । इन्जुरी समयको चौथो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । इन्जुरी समयको छैटौँ मिनेटमै गोन्जालो गार्सियाले गोल गर्दै पहिलो हाफमा खेल फेरि बराबरी बनाए ।
अन्तिम मिनेटहरूमा दुवै टोलीले अवसर पाए पनि गोल हुन सकेन । सन् २०११ यता बार्सिलोना पहिलो पटक लगातार दुई पटक स्पेनिस सुपर कपको उपाधि जित्न सफल भयो ।







