
पोखराको प्रतिष्ठित सामाजिक संस्था युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघ ११ गतेसम्म सञ्चालन हुने ‘१४औं पोखरा महोत्सव’ लाई भव्य र सभ्य बनाउन पोखराका विभिन्न संघसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन्।
अमरसिंह खेल मैदानमा आयोजना हुने यस महोत्सवको शोभा बढाउन स्थानीय क्लब, आमा समूह तथा विभिन्न जातीय एवं सामाजिक संस्थाहरूले झाँकी र र्यालीसहित सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका हुन्।
महोत्सवको पूर्वसन्ध्यामा युनाइटेड क्लबद्वारा आयोजित ‘संघसंस्था तथा झाँकी र्याली अन्तरक्रिया’ कार्यक्रममा सहभागी प्रतिनिधिहरूले महोत्सवको उद्घाटनका दिन पोखरा रंगशालाको गेटदेखि महोत्सव स्थलसम्म निकालिने र्यालीमा स्वतःस्फूर्त सहभागी हुने निर्णय गरेका छन्।
कार्यक्रममा बोल्दै १४औं पोखरा महोत्सवका झाँकी र्याली व्यवस्थापन उपसमिति संयोजक एवं पूर्व अध्यक्ष सुक बहादुर गुरुङले पोखरा महोत्सवको आम्दानी विशुद्ध सामाजिक कार्यमा खर्च हुने भएकाले यसलाई सफल बनाउनु सबै पोखरेलीको साझा दायित्व भएको बताउनुभयो।
त्यस्तै, संघसंस्था व्यवस्थापन उपसमिति संयोजक सीमा गुरुङले अघिल्लो वर्ष ३ सय १५ वटा संघसंस्थाले झाँकी र र्यालीमा सहभागिता जनाएको स्मरण गर्दै यस वर्ष पनि सोही हाराहारीमा उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।
क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरेली जनताकै माया र विश्वासका कारण महोत्सव १४औं संस्करणसम्म आइपुगेको बताउनुभयो। उहाँले महोत्सव नाफा कमाउने उद्देश्यले मात्र नभई सामाजिक सेवाको भावनाले प्रेरित रहेको स्पष्ट पार्नुभयो।
क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सञ्चालन गर्नुभएको उक्त अन्तरक्रिया कार्यक्रममा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका पदाधिकारीहरू, विभिन्न उपसमितिका संयोजकहरू र पोखराका विभिन्न टोल तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पोखरा महोत्सवले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।







