
पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुँडीटार क्षेत्रमा प्रस्तावित फोहोर प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) को विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीय बासिन्दालाई खुकुरी देखाएर धम्क्याएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
महानगरपालिकाले पुँडीटारमा ल्याण्डफिल साइट निर्माण गर्ने निर्णय गरेपछि स्थानीयवासी लामो समयदेखि आन्दोलित थिए। आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै शुक्रबार स्थानीयले वडा कार्यालय घेराउ गरी गेटमा ताला लगाएका थिए।
प्रदर्शनका क्रममा वडाध्यक्ष अधिकारी खुकुरी बोकेर बाहिर निस्किएका थिए। स्थानीय पत्रकार सञ्जय आचार्यका अनुसार वडाध्यक्षले “को हो यहाँ ताला लगाउने, देखाइदिउँ?” भन्दै खुकुरी नचाएर आन्दोलनकारीलाई तर्साउने प्रयास गरेका थिए। जनप्रतिनिधि जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले सर्वसाधारणमाथि हतियार प्रदर्शन गरेपछि स्थिति झन् उत्तेजित बनेको थियो।
वडाध्यक्षको उक्त व्यवहारबाट आक्रोशित बनेका प्रदर्शनकारीले उनको गाडी तोडफोड गरेका छन्। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हस्तक्षेप गरी वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पोखरा पठाएको छ।
घटनापछि स्थानीयले वडा कार्यालयको गेट र वडाध्यक्षको कार्यकक्षमा पुनः ताला लगाइदिएका छन्। “कुनै पनि परिस्थितिमा यहाँ फोहोर प्रशोधन केन्द्र स्वीकार्य हुँदैन,” स्थानीय दीनेश आचार्यले आक्रोश पोख्दै भने, “भरतपोखरी क्षेत्रको पहिचानलाई फोहोर फाल्ने ठाउँ बनाउन दिइने छैन।”
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे अनुसन्धान भइरहेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। पोखरा महानगरपालिकाले भने यस घटना र वडाध्यक्षको व्यवहारका सम्बन्धमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
ल्याण्डफिल साइटको विवादले उग्र रूप लिएपछि पुँडीटार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने स्थानीय बासिन्दाले आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।







