
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले विशेष महाधिवेशन अवज्ञा गर्न निर्देशन दिएकै समयमा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले भने उक्त महाधिवेशनमा सक्रिय सहभागी हुन कार्यकर्तालाई अपिल गरेका छन् ।
बरालले बिहीबार एक अपिल जारी गर्दै पार्टीलाई विधि र विधान अनुसार अगाडि बढाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् ।
केन्द्रीय कार्यालयले सो महाधिवेशनलाई वैधानिकता नदिने र त्यसको अवज्ञा गर्न मातहतका निकायलाई सर्कुलर जारी गरे पनि कास्की सभापति बरालले भने महामन्त्रीद्वयको कदमलाई समर्थन गरेका छन् ।
उनले पार्टीको १५ औँ महाधिवेशन समयमा हुन नसकेको र विधान संकटमा परेको भन्दै विशेष महाधिवेशनलाई सफल बनाउन सबै महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे ।
केन्द्रीय कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्नुपर्ने भन्दै अहिले विशेष महाधिवेशन गर्न नसकिने अडान राखेको छ । सभापति शेरबहादुर देउवा पक्षले यो कार्यक्रमलाई पार्टी हित विपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको छ ।
तर महामन्त्रीद्वय थापा र शर्मा पक्षले भने विधानको मर्म अनुसार तोकिएको समयमा नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन नै संकटमोचनको बाटो भएको दाबी गर्दै आएका छन् ।
विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ । यसका लागि १८ वटा विभिन्न उपसमितिहरू समेत गठन गरी काम अगाडि बढाइएको सचिवालयले जनाएको छ ।
कास्की सभापति बरालले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई उत्साहपूर्वक काठमाडौँ आउन आह्वान गरेपछि कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण थप प्रस्ट देखिएको छ ।
विशेष महाधिवेशन पक्षधरले स्थानीय प्रशासनलाई शान्ति सुरक्षाका लागि पत्राचार समेत गरिसकेका छन् । संस्थापन पक्षले महाधिवेशन रोक्न खोजे पनि आफूहरू विधान रक्षाका लागि उभिएको बरालको भनाइ छ ।
उनले विसं २०८२ पुस २८ भित्र १५ औँ महाधिवेशन हुनुपर्नेमा सो हुन नसक्दा विशेष महाधिवेशन नै निर्विकल्प विकल्प बनेको उल्लेख गरे ।







