गिरफ्तारीका क्रममा मदुरोकी पत्नीलाई ‘गम्भीर चोट’ लागेको वकिलको दाबी

santan ads

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोकी पत्नी सिलिया फ्लोरेस न्युयोर्कको अदालतमा अनुहारमा पट्टी बाँधेको र शरीरमा नीलडाम भएको अवस्थामा उपस्थित भएकी छिन्। उनका वकिलका अनुसार पक्राउ गर्ने क्रममा उनीमाथि सुरक्षाकर्मीले बल प्रयोग गर्दा चोट लागेको हो।

फ्लोरेसका वकिल मार्क डोनेलीले अदालतलाई जानकारी दिए अनुसार, गत शनिबार भेनेजुएलाको काराकासस्थित निवासमा अमेरिकी सेनाले छापा मार्ने क्रममा फ्लोरेसलाई “गम्भीर चोट” लागेको थियो। डोनेलीले फ्लोरेसको करङ भाँच्चिएको हुनसक्ने आशंका गर्दै पूर्ण शारीरिक ‘एक्स-रे’ गर्न माग गरेको फक्स न्यूजले उल्लेख गरेको छ ।

अदालतमा उपस्थित हुँदा फ्लोरेसको निधार र आँखामाथि पट्टी बाँधिएको थियो भने उनले आफ्नो करङमा दुखाइ र नीलडाम रहेको गुनासो गरेकी थिइन्।

सोमबार भएको पहिलो अदालत उपस्थितिमा राष्ट्रपति मदुरो र उनकी पत्नी फ्लोरेस दुवैले आफूहरूमाथि लगाइएको ‘नार्को-टेररिज्म’ (लागूऔषध आतंकवाद) र अन्य आरोपहरूमा ‘दोषी नरहेको’ (Not Guilty) बयान दिएका छन्।

अमेरिकी अधिकारीहरूले मदुरो प्रशासनमाथि लागूऔषध तस्करी र आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएका छन्। सोही सिलसिलामा उनीहरूलाई नाटकीय रूपमा नियन्त्रणमा लिई अमेरिका पुर्‍याइएको हो।

Scroll to Top