
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख डा. तुलसी प्रभास खनालले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका–८ निवासी खनालले शिक्षा, संस्कृति र अनुसन्धानलाई राजनीतिक नेतृत्वको मूल आधार बनाउने प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गरेका हुन्।
संस्कृतिविद्, शिक्षाविद्, लेखक, प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा परिचित डा. खनाल तीन दशकभन्दा बढी समय अध्यापन क्षेत्रमा सक्रिय रहेका थिए। “तुलसी सर” का नामले देशभर परिचित उनले नेपालका १२० भन्दा बढी जातजातिको अध्ययन गर्नुका साथै ८० वटा स्थानीय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखनमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
भीरकोट, वालिङ, गल्याङ, चापकोट र कालीगण्डकी क्षेत्रका सबै जातजाति तथा शैक्षिक अवस्थामाथि विस्तृत अनुसन्धान गरेका खनाल भारतको नयाँ दिल्लीमा प्रयोगमा आएको “खुसी पाठ्यक्रम” का अनुसन्धानकर्ता समेत हुन्। साथै उनले गण्डकी प्रज्ञा प्रतिष्ठानको अनुसन्धान विज्ञका रूपमा रहेर काम गरिसकेका छन्।
राजनीतिशास्त्र (बी.ए.), नेपाली (एम.ए.), शिक्षा योजना तथा व्यवस्थापन (एम.एड.) तथा नेपाली लोकसंस्कृतिमा विद्यावारिधि (पीएचडी) सम्मको शैक्षिक योग्यता हासिल गरेका डा. खनालले नेपाल र विदेशमा गरी दर्जनौँ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका थिए।
उनका ४० भन्दा बढी लघु अनुसन्धान सम्पन्न भइसकेका छन् भने उनले देश–विदेशबाट विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै डा. खनालले शिक्षामैत्री नीति, सांस्कृतिक संरक्षण, अनुसन्धान–आधारित विकास र सुशासन आफ्नो राजनीतिक प्राथमिकता रहने बताए। “शिक्षित नागरिक बिना समृद्ध राष्ट्र सम्भव छैन,” भन्दै उनले जनताको विश्वास र सहभागितामार्फत उत्तरदायी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।







