
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकहरूका लागि दिइएको तीन दिने चरा पहिचान तालिम सम्पन्न भएको छ।
गण्डकी प्रदेशका विभिन्न पदयात्रा क्षेत्रमा सक्रिय ३६ जना पथप्रदर्शकहरूलाई तालिम दिइएको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिएका थिए। पदयात्रामा जाने पर्यटकहरूलाई चराचुरुङ्गीका बारेमा जानकारी गराउन सहज होस् भन्ने उद्देश्यले यो तालिम आयोजना गरिएको उनले बताएका थिए।
तालिममा सहभागीहरूलाई नेपाल पंछीविद् संघका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरिया, काठमाडौं इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट (किप) का कार्यकारी सदस्य गोपी श्रेष्ठका साथै अन्य पंछीविद्हरूले प्रशिक्षण दिएका थिए। प्रशिक्षकहरूले चरा अवलोकनका विभिन्न पक्षबारे सैद्धान्तिक र स्थलगत रूपमै प्रयोगात्मक तालिम प्रदान गरेका थिए।
तालिमको समापन समारोहमा प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने र समाजका सल्लाहकार जीवनराज सापकोटालगायतले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।
सो अवसरमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले पर्यटनका विभिन्न विधा मध्ये चरा पर्यटन एक महत्त्वपूर्ण पक्ष रहेको बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरेका थिए। त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रदेश प्रमुख मणिराज लामिछानेले कतिपय पर्यटकहरू केवल चरा हेर्नकै लागि आउने भएकाले यस क्षेत्रमा विज्ञता हासिल गर्नु जरुरी रहेको बताएका थिए।
नेपाल पंछीविद् संघका अध्यक्ष हठनराम महतोले चरा पर्यटनमा लागेकाहरूले प्रविधिको प्रयोगसँगै यस क्षेत्रप्रति गहिरो लगाव राख्नुपर्नेमा जोड दिएका थिए। समाजका सल्लाहकार जीवनराज सापकोटालगायतले यो तालिम पथप्रदर्शकहरूको क्षमता अभिवृद्धिमा निकै सहयोगी सिद्ध भएको विश्वास व्यक्त गरेका थिए।
पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संयोजक कृपाकुमार गुरुङले गरेका थिए। तालिमका क्रममा प्राप्त सिकाइ र अनुभवबारे प्रशिक्षकद्वय कुसुमकुमारी थापा र दीपेन्द्र चपाइँले जानकारी गराएका थिए।
सोही अवसरमा नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजन र पोखरा पंछी समाजद्वारा प्रकाशित ‘मिलेनियम पदमार्गमा पाइने चराहरू’ शीर्षकको सचित्र पुस्तकको समेत लोकार्पण गरिएको थियो।







