महानगरको राजस्व प्रणालीले करदाता हैरान भएपछि असन्तुष्ट वडाध्यक्ष, बुझाए ज्ञापनपत्र

santan ads

पोखरा महानगरपालिकाको राजस्व संकलन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै वडा नम्बर १३ का अध्यक्ष किरण बरालले महानगर प्रशासनको ध्यानाकर्षण गराएका छन्।

प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै उनले अवरुद्ध प्रणाली सुधार गर्न र कर छुटको समयावधि थप गर्न माग गरेका हुन्।

महानगरले प्रयोगमा ल्याएको ‘सूत्र रेभिन्यू मोडल’ पटक-पटक बिग्रँदा कर तिर्न आउने नागरिकहरू लामो समय लाइनमा बस्न बाध्य भएको र कतिपय अवस्थामा कामै नगरी फर्किनुपरेको अध्यक्ष बरालले बताए।

ज्ञापनपत्रमा भनिएको छ, ‘राष्ट्रलाई स्वेच्छिक रूपमा कर तिर्न आउने नागरिकले एउटै कामका लागि पटक-पटक कार्यालय धाउनुपर्ने अवस्था दुखद छ।’

प्रविधिमा आधारित सेवालाई भरपर्दो बनाउनुपर्नेमा बारम्बार प्रणाली अवरुद्ध हुनुले महानगरप्रतिको जनविश्वासमा नकारात्मक असर परेको उनले उल्लेख गरे।

प्राविधिक समस्याकै कारण धेरैले समयमा कर बुझाउन नपाएको अवस्थालाई मध्यनजर गर्दै अध्यक्ष बरालले हाल पुस मसान्तसम्म रहेको कर छुटको सुविधालाई चैत मसान्तसम्म बढाउन माग गरेका छन्।

उनले राजस्व प्रणालीलाई स्थायी, सरल र प्रभावकारी बनाउन समेत महानगरलाई आग्रह गरेका छन्।

Scroll to Top