सत्यनारायणको ‘डाक्टर’ सपनामा रामबहादुरको साथ

सिराहा श्रीपुरस्थित फुसको झुप्रोमा सत्यनारायण साफी डाक्टर बन्ने सुनौलो सपना साँचिरहेका छन् । एमबीबीएसको छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएपनि अब साफी केही वर्षमा डाक्टर बन्नेछन् ।


तर त्यो भन्दा पहिले ४ वर्षसम्म लाग्ने अन्य खर्च जुटाउन भने साफी परिवार अझै चिन्तित छ । केही दिनअघिदेखि मजदुरी गरिरहेको तस्बिर सामाजिक सञ्जालमा उनको डाक्टरी सपनासहित छ्याप्छ्याप्ती देखिन थालेपछि मनकारी हातहरु सहयोग गर्र्न अगाडी आउन थालेका छन् ।

यसैबीच, शिक्षाप्रेमी नेशनल लघुवित्त वित्तीय संस्थाका सिइओ रामबहादुर यादवले साफीको घरमै पुगेर ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

सहयोगपछि यादवले भनेका छन् ‘आफ्नै जिल्लाका गरिब अनि दलित परिवारका युवकले छात्रवृत्तिमा नाम निकालेर पनि अन्य खर्च जुटाउन बेल्चा हान्न जानपर्ने बाध्यता सुनेपछि सहयोग गर्न आएको हुँ ।’

हाल साफीलाई सहयोग गर्न स्थानीयलगायत बाहिर जिल्लाका व्यक्तिहरु जुटिरहेको साफी परिवारले जनाएका छन् । सत्यनारायणको परिवार अझ बढी मेहेनत गरेर छोराको खर्च जुटाउन लाग्नेसमेत अठोट गरेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ गएर पढ्न समस्या भएको भन्दै उनका बाबु मधुरी साफीले सहयोगको याचना गरेका छन् ।

Scroll to Top