२ सय ५० स्टलसहित पोखरा महोत्सवको तयारी सुरु

santan ads

युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखरामा १४औँ संस्करणको ‘पोखरा महोत्सव’ हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महोत्सवको तयारी सुरु भइसकेको आयोजकले जनाएको छ ।

महोत्सवका संयोजक दिनेश सुनारका अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनमार्फत देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा विभिन्न जातजातिको कला-संस्कृति, हस्तकलाका सामग्री तथा पर्यटकीय क्षेत्रको प्रदर्शनी गरिनेछ । यसपटक महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवमा कुल २५० वटा स्टल रहनेछन् । आयोजकले सामाजिक उत्तरदायित्व अन्तर्गत फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक र ५ वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।

क्लबका पूर्वअध्यक्ष राजु श्रेष्ठले महोत्सवबाट हुने आम्दानी पोखरा–२७ अर्चलेमा निर्माणाधीन ‘युनाइटेड छात्रावास’ भवन निर्माणमा खर्च गरिने जानकारी दिनुभयो । यस्तै, अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले विद्यालयको शैक्षिक गतिविधिमा असर नपर्ने गरी महोत्सव सञ्चालन हुने र क्लबले विद्यालयको जग्गा संरक्षणमा सहयोग गरेको बताउनुभयो ।

महोत्सवमा बद्री पंगेनी, प्रकाश सपुत, शान्तिश्री परियार जस्ता लोक कलाकारदेखि सविन राई, भिटेन र लाहुरे जस्ता चर्चित पप तथा हिपहप गायकहरूको सांगीतिक प्रस्तुति रहनेछ ।

Scroll to Top