
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहमा सोमबार हजारौँ युवा विद्यार्थीहरूका माझ एकजना यस्ता व्यक्तित्व देखिए, जसले ‘उमेर केवल एउटा संख्या मात्र हो’ भन्ने तथ्यलाई चरितार्थ गरिदिए। उनी हुन्, खोटाङका ६८ वर्षीय इन्द्रबहादुर थापा।
आफ्नो जीवनको उर्वर समय परिवार र सन्तानको भविष्य निर्माणमा खर्चेका थापाले ६८ वर्षको उमेरमा समाजशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी दीक्षित भएका हुन्। उनी समाजका लागि मात्र नभई नयाँ पुस्ताका लागि समेत प्रेरणाको एउटा ठुलो स्रोत बनेका छन्।
इन्द्रबहादुर थापाले आफ्नो जीवनका ३० वर्ष सरकारी सेवामा बिताए। जागिरे जीवनका दौरान उनको एउटै लक्ष्य थियो— आफ्ना सन्तानलाई सुशिक्षित र सक्षम बनाउने। उनले आफ्नो त्यो सपनालाई पूर्ण सफलताका साथ साकार पारेका छन्।
उनका तीन छोरीहरूले स्नातकोत्तर तहको अध्ययन पूरा गरी हाल प्रतिष्ठित सेवामा कार्यरत छन्। थापाका अनुसार उनकी एक छोरी नेपाल सरकारको उपसचिव पदमा कार्यरत छिन् भने अर्की छोरी नेपाल एयरलाइन्सको अधिकृत र तेस्रो छोरी शिक्षण पेशामा आबद्ध छिन्।
छोरीहरूलाई मात्र होइन, छोराहरूलाई पनि उनले उच्च शिक्षा र सुदृढ करियरको बाटो देखाएका छन्। उनका छोराहरू कोही इन्जिनियर छन्, कोही नेपाल आर्मीमा सेवा गरिरहेका छन् भने कोही अमेरिकाबाट स्नातकोत्तर गर्ने सपना पूरा गरिसकेका छन्।
लामो समय सरकारी सेवामा रहेर सन्तानलाई सफलताको शिखरमा पुर्याएपछि थापाले आफ्नो अधुरो रहेको अध्ययनको इच्छालाई पुनः जगाए।
३० वर्षको सेवाबाट अवकाश पाएपछि उनले घरमा बसेर आराम गर्नुको सट्टा विश्वविद्यालयको यात्रा तय गरे। समाजलाई अझ नजिकबाट बुझ्ने र प्राज्ञिक ज्ञान हासिल गर्ने उद्देश्यका साथ उनले समाजशास्त्र विषय रोजेका थिए।
दीक्षान्त समारोहमा उपस्थित अन्य विद्यार्थी र अभिभावकहरू उनलाई गाउन र टोपीमा देख्दा अचम्मित र उत्साहित देखिन्थे। थापा भन्छन्, “परिवारको खुसी र सन्तानको भविष्यका लागि धेरै दौडियो, अब आफ्नै इच्छा पूरा गर्दा छुट्टै आनन्द मिलेको छ।”
इन्द्रबहादुर थापाको यो उपलब्धिले शिक्षा हासिल गर्न कुनै निश्चित उमेर वा समयले छेक्दैन भन्ने सन्देश दिएको छ। अवकाशपछिको जीवनलाई सक्रिय र रचनात्मक बनाउन सकिन्छ भन्ने उनी एक ज्वलन्त उदाहरण बनेका छन्।
दीक्षान्त समारोहमा उनी मात्र दीक्षित भएनन्, उनले हजारौँलाई सिक्ने र अघि बढ्ने नयाँ ऊर्जा समेत प्रदान गरे।







