विप्लवको कम्युनमा बन्दुक र विष्फोटक पदार्थ, राज्यद्वारा दमनको आरोप

santan ads

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी को अर्घाखाँचीस्थित कम्युनबाट प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ ।

चुनाव लक्षित सुरक्षाका लागि प्रहरीले गरेको छापामा बिहान १० बजेतिर अर्घाखाँची शितगंगा नगरपालिका–११ बोक्सेमा जिल्ला प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीको कमान्डमा गस्ती गर्दा कोही नबस्ने गोठबाट भरूवा बन्दुक र ग्रिनेड लगायतका विस्फोटक पदार्थ फेला परेका हुन्।

फेला परेका विस्फोटक पदार्थमा भरूवा बन्दुक दुई थान, ग्रिनेड १४ वटा, डेटोनेटर १२ वटा, लामो लन्चर जस्तो देखिने प्लास्टिकको पाइप ३ वटा, पाँच लिटरको प्रेसर कुकर बम एउटा, स्टिलको बम एउटा, बिजुलीको तार ४ बन्डल, बारूद ५०० ग्राम छन्। भरूवा बन्दुक बाहेक अन्य विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा शुक्रबार नै डिस्पोज गरिएको प्रहरीले जानकारी दिएको छ।

यता, यस घटनालाई नेकपा माओवादीले राज्यद्वारा गरिएको दमन भन्दै आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता प्रकाण्ड सीद्वारा जारी विज्ञप्तिमा एकातिर सरकारले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने दाबी गरिरहेको र अर्कोतिर माओवादीसँग सम्बन्धित उत्पादन केन्द्र तथा सर्वसाधारणका घरमा छापा मार्नुले सरकार शान्तिपूर्ण निकासको पक्षमा नरहेको दाबी गरिएको छ ।

Scroll to Top